सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीयलाई नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्षलाई के कारवाही हुन्छ ?

२०७७ कार्तिक १४, ०९:१३ खबर संवाददाता

धनगढीः भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने कार्यमा संलग्न धनगढी उपमहानरपालिका १२ का वडाध्यक्ष गणेशप्रसाद जोशी पक्राउ परेका छन् ।

जोशीलाई प्रहरीले २०७५ साल फागुन २० गते भारतीय नागरिक अलियास अन्सारीलाई बंशजका आधारमा नागरिकता दिन सिफारिस दिएको आरोपमा पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ ।

जोशीले वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

नक्कली बुवा बनेका चौधरी फरार छन् भने  उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  नेपाली काँग्रेसबाट विजयी वडाध्यक्ष जोशीलाई अब के कारवाही हुन्छ ? भन्ने कुरा चासोको विषय बनेको छ ।

नेपाली नागरिकता ऐन २०६३ मा बिदेशीले नेपाली नागरिक भएको झुठो दावी गरी नागरिकता प्राप्त गरेमा १ वर्षदेखि ५ वर्ष सम्म कैद र ५० हजारदेखि १ लाख सम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरेको छ ।

दण्ड सजाय सम्बन्धि ऐनको दफा २१ मा उक्त व्यवस्था छ । उक्त दफा बमोजिम सजाय भएमा प्राप्त गरेको नागरिकता स्वतः रद्द हुने उल्लेख छ । 

सोही दफाको उपदफा २ मा कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि ३ वर्ष समम कैद वा २५ हजारदेखि ५० हजार सम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।

कैलाली प्रहरीले नागरिकता दिलाउने सिफारिस दिलाउने वडाध्यक्ष जोशीलाई नागरिकता ऐन अनुसार नै माग दावी गर्दै कारवाही गरिने जनाएको छ ।     
 

कमेन्ट लोड गर्नुस