कैलालीमा कुटपिट गरी युवकको हत्या, ३ जना पक्राउ
धनगढीः कैलालीमा कुटपिट गरी युवकको हत्या भएको छ ।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय भरत तिमल्सिनाको गएराती कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले गएराती साढे १० बजेको समयमा जानकी गाउँपालिका वडा नम्बर ५ मा युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको मृत्यु भएको दिनेश खबरलाई बताए ।
उनलाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुगाउने बितिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
तिमल्सिनाको कुटपिट गरी हत्या गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी नायब उपरीक्षक न्यौपानेले अनुसन्धानका लागि स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको जानकारी दिए ।
उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।