कञ्चनपुरमा खैरो हेरोइनसहित दुई जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रमा अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।
बेलौरी नगरपालिका–८ पचुईमा बिहीबार बेलुका शंका लागी चेकजाँच गर्ने क्रममा प्रहरीले से.७ प २९२५ नम्बरको मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका–७ बस्ने ३४ वर्षीय महादेव राना र सोही स्थानका अन्दाजी २६ वर्षीय सुकविन्द्र रानालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट ६ ग्राम ३२० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले दुवै जनालाई मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।