सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन हजार सङ्क्रमित निको : ३९ हजार सक्रिय

२०७७ कार्तिक १४, ०५:५० रासस

देशभरमा बिहिबार कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या बुधबारभन्दा ६७४ कम भएको छ।   देशभरमा बिहिबार दुई हजार ३६४ जना सङ्क्रमित थपिँदा तीन हजार ३८ सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमित केही कम भएका हुन्। बिहिबार थपिएका सङ्क्रमितमध्ये पुरुष एक हजार ३८० र महिला ९८४ जना छन्। 

अहिले सम्म एक लाख २४ हजार ८६२ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। आजसम्म एक लाख २४ हजार ८६२ जना अर्थात्  ७५ दशमलव आठ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन्। आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ। यो जम्मा सङ्क्रमितमध्ये २३ दशमलव  ६ प्रतिशत छ। 

काठमाडौँ उपत्यकामा बिहिबार एक हजार ६१५ नयाँ सङ्क्रमित थपिएका छन्।  थपिएका सङ्क्रमितमध्ये ९११ पुरुष र ७०४ महिला  छन्। काठमाडौँ उपत्यकाका   काठमाडौँमा १६ हजार ५२१, ललितपुरमा दुई हजार ४७० र भक्तपुरका एक हजार ७० सक्रिय सङ्क्रमित  छन्।

देशभर हालसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ६४ हजार ७१८ पुगेको छ । सक्रिय सङ्क्रमितमध्ये हाल ३१ हजार ८९८ होम आइसोलेशनमा छन्।  पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा नौ हजार ७६९ नमूना परीक्षण भएको थियो। हालसम्म १४ लाख १९ हजार ६४ नमूना परीक्षण भइसकेको छ। हालसम्म पिसिआर परीक्षणमध्ये सङ्क्रमण दर ११ दशमलव ६ प्रतिशत छ। क्वारेन्टिनमा रहेकाको सङ्ख्या दुई हजार ६८९ छ। 

प्रदेशअनुसार होम आइसोलेशनमा रहनेको सङ्ख्या प्रदेश १ मा छ हजार १८३, प्रदेश २ मा एक हजार एक, वाग्मती प्रदेशमा १८ हजार ७६, गण्डकी प्रदेशमा एक हजार ३२६, लुम्बिनी प्रदेशमा तीन हजार ७४१, कर्णाली प्रदेशमा ५७३ र सुदूरपश्चिम प्रदेशमा ९९८ छ। देशभरमा आज ३०४ सङ्क्रमित सघन उपचार कक्षमा  छन्।

प्रदेश १ मा ३६, प्रदेश २ मा १३, वाग्मतीमा १८४, गण्डकीमा १३, लुम्बिनीमा ४९, कर्णालीमा चार र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित सघन उपचार कक्षमा  छन् । त्यस्तै प्रदेश १ मा १०, प्रदेश २ मा दुई, वाग्मतीमा ५७, गण्डकीमा दुई र  लुम्बिनीमा पाँच गरी जम्मा ७६ सङ्क्रमित भेण्टिलेटरमा छन्। 
 

कमेन्ट लोड गर्नुस