सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कनरी पार्क :निर्माण सकिएको २ वर्ष बित्दापनि सञ्चालन भएन

२०७७ कार्तिक १३, ०६:२४ जनक विष्ट

धनगढीः संघीय सरकारको बजेटमा २०७५ साल पौष २९ मा निर्माण सम्पन्न भएको धनगढीको कनरी पार्क अझै सञ्चालनमा आउन सकेको छैन् । पार्क सञ्चालनको स्वामित्व पाएको धनगढी उप–महानगरपालिकाले निर्माण सम्पन्न भएको झण्डै २ वर्ष बित्दा समेत सञ्चालन गर्न नसकेको हो ।

वडा नम्बर १५ मा निर्माण गरिएको पार्कको यही कात्तिक २ गते धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड र उपमेयर सुसिला मिश्र भट्टले संयुक्त रुपमा उद्घाटन गरेका थिए । तर सञ्चालन गर्न भने ढिलाई भइरहेको छ । अहिले पार्कको झाडी सफाई लगायतको काम भइरहेको छ ।

कर्नरी पार्कको सफाईमा खटिएका विजेन्द्र धामीले विगत केही दिनदेखि आफूले पार्कको सरसफाई गरिरहेको बताए । उप–महानगरपालिकाले ठेक्कामा लगाएर पार्क सञ्चालन गर्न खोज्ने र स्थानीय बासिन्दाले पार्क सञ्चालनमा आफ्नो पनि सहभागिता हुनुपर्ने माग गर्न थालेपछि विवादित सिर्जना हुँदै आएको छ ।

पार्क निर्माण गर्दा नमूना सामुदायिक वनले समेत जग्गा उपलब्ध गराएको भन्दै विगतदेखि नै वनको समेत सञ्चालनमा भूमिका हुनपर्ने माग गरिदै आएको छ तर अहिले सम्म उप–महानगरपालिकाले उक्त माग सम्बोधन गर्न नसकेको गुनासो गरिएको छ ।

नमूना सामुदायिक वनकी अध्यक्ष लक्ष्मी कैलाले पार्क सञ्चालनमा वनको समेत कुनै न कुनै भूमिका हुनुपर्ने आफूहरुको माग रहेको बताईन् । उनले उपमहानगरपालिकाले पार्क सञ्चालक समितिमा वनका पदाधिकारीलाई पनि सामेल गराउनुपर्ने बताउँदै जनप्रतिनिधिसँग ती कुरा राख्दै आएको जनाईन् ।

तर अहिले सम्म कुनै सुनवाइ नभएको उनको दावी छ । तर धनगढी उप–महानगरपालिकाले कर्नरी पार्कको ठेक्काका लागि २०७६ साउन २२ गते पहिलो पटक बोलपत्र आह्वान गरेको थियो। टेण्डर नै नपरेको भन्दै दोस्रो पटक २०७६ कै भदौ १२ मा सूचना जारी गरिएको थियो भने तेस्रो पटक कात्तिक १९ मा समेत सूचना जारी गरेको थियो।

तर टेण्डर नै नपरेको भन्दै उप–महानगरपालिकाले त्यसपछिका प्रक्रिया अगाढी बढाउन नसकिएको जनाएको छ । तर मिलेमतोमा ठेक्का पार्न खोज्दा टेण्डर विवादित भएपछि अहिले सम्म कुनै पनि प्रक्रिया अगाडी नबढेको दावी गरिदै आएको छ ।

उप–महानगरपालिकाका प्रवक्ता सन्तोश मुडभरीले कर्नरी पार्क छिट्टै पीपीई मोडलमा सञ्चालन गरिने बताए । उनले विगतमा आह्वान गरिएका टेण्डरमा विवाद उत्पन्न हुँदा समस्या भएकाले अब चाडै निकास निस्किने बताए ।

संघीय सरकारको सहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन इकाइ धनगढीले २ करोड ७४ लाखमा कनरी पार्क निर्माण गर्दै उपमहानगरपालिकालाई सञ्चालनका लागि हस्तान्तरण गरेको थियो ।

दुई वटा पोखरी, तीन वटा बनभोज स्थल, मन्दिर लगायतका रमणीय संचनाहरु निर्माण गरिएको पार्क सञ्चालन भए पर्यटक तान्ने विश्वास गरिएको छ भने उपमहानगरपालिकाको आन्तरिक आय स्रोत समेत थपिनेछ ।

तर सञ्चालनमै ढिलाइ भएपछि पार्कबाट आम नगरबासीले कुनै लाभ लिन सकेका छैनन् ।

 
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस