पोखरा महानगरपालिकाको सेवा आजदेखि सञ्चालनमा आउने
कास्की : पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने सेवा आजदेखि सञ्चालनमा आउने भएको छ ।
महानगर कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि गत असोज २९ गतेदेखि बन्द सेवा कात्तिक १३ गते (आज)देखि सञ्चालनमा आउने महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिए ।
कर्मचारीमा सङ्क्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न महानगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा स्थगन गरिएको थियो ।
महानगरमा गठित कोरोना सङ्क्रमण रोकथाम मूल समितिको हिजोको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्ने गरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवा नियमित गर्ने निर्णय गरेको महानगरले जनाएको छ ।