जब धनगढीको एक होटलबाट महिलासहित २ युवती अपहरणको खबर प्रहरीलाई पुग्यो...
धनगढीः मंगलबार राती १० बजेतिर वडा प्रहरी कार्यालय धनगढीको नियमित गस्ती टोलीले एक युवकलाई अलपत्र अवस्थामा भेट्यो । धनगढीकै डिभोटी चोक नजिकै भेटिएका ती युवकको नाकबाट रगत बगिरहेको थियो । हातमा फुटेको मोबाइल र चार्जर पनि बोकेका युवकलाई देखेर प्रहरीको भ्यान रोकियो । अवस्था हेर्दा लाग्थ्यो कि उनी अफठेरोमा परेका छन् ।
‘म, आमा र मेरा २ दिदीहरु भारतबाट फर्केर अछाम होटलमा बसेका थियौँ । बैतडी पुगाइदिन्छु भनेर होटल बाहिर कार आयो ।’ सोेधपुछको क्रममा ती युवकले प्रहरीलाई भने, ‘कारमा बसेर जादै थियौँ । एक्कासी सोही स्कारपियोमा बसेका कपाल पालेको, मुन्द्रा लगाएको व्यक्तिले मलाई कुटपिट गरी आमा र दिदीलाई लगेर गयो सर । मलाई यतै छोडेर गए ।’
युवकको त्यो भनाई सुनेर गस्तीमा खटिएका वडा प्रहरी कार्यालयका अधिकारीहरुलाई गम्भीर बनायो । उनीहरुले तत्कालै सिनियर प्रहरी अधिकृतलाई युवक वेवारिसे भेटिएको, आमा र दिदीलाई अपहरण गरेको बताइरहेको कुरा जानकारी गराए । क्षणभरमै त्यो खबरले कैलाली प्रहरी बृत्तमा सनसनी फैलियो ।
वडा प्रहरी कार्यालयका अधिकारीको टोली उनलाई लिएर स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पुग्यो भने जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धानका लागि तत्कालै छुट्टाछुट्टै टोली परिचालन गर्यो । युवकलाई भ्यानमा राखेर प्रहरी टोली बसपार्कमा रहेको अछाम होटलमा पुग्यो । सञ्चालक सहितका कर्मचारीलाई छुट्टाछुट्टै राखेर सोधपुछ गर्न थाल्यो ।
सञ्चालकको भनाइमा ती युुवक र उनले भने अनुसार मानिस मंगलबार राती होटलमा प्रवेश गरेका थिएनन् । तर प्रहरीलाई त्यो कुरा विश्वास लागेन । बुधबार बिहान फेरी आउने र सञ्चालक सहित कर्मचारीलाई अन्यत्र नजान अनुरोध गर्दै प्रहरीले होटलमाथि समेत निगरानी बढायो ।
रातभर प्रहरीका छुट्टाछुट्टै टोली घटनाको अनुसन्धान र विश्लेषणमा लागे भने एउटा टोलीले उनलाई बोकेर शंकास्पद क्षेत्रमा खोजी तीब्र बनाएको थियो । किनकी होटलबाट महिला सहितका २ युवतीको अपहरण हुनु प्रहरीका लागि सबैभन्दा ठूलो चुनौतीको विषय बनेको थियो । वेपत्ता पारिएका भनिएका युवकका आमा र २ दिदीको खोजीलाई निरन्तरता दिदै बुधबार बिहानैदेखि पुनः टोलीहरु परिचालन भए ।
जिल्ला प्रहरी कार्यालयले उक्त विषयमा प्रदेश प्रहरी कार्यालयलाई समेत जानकारी गराइसकेको थियो । विहानै एउटा टोली पुनः अछाम होटलमा पुग्यो । प्रहरी सहायक निरीक्षकको नेतृत्वको त्यहाँ पुगेको टोली अछाम होटलको सिसि टिभी फुटेजको विश्लेषणतर्फ लाग्यो । सिसि टिभी फुटेज हेर्दा सडकमा अलपत्र भेटिएका युवक होटलमा प्रवेश गरेको देखिएन । जुन कुरा होटल सञ्चालकले मंगलबार साँझ नै प्रहरीलाई भनिसकेका थिए ।
‘उहाँहरुले सिसिटिभी फुटेज हेर्नुभयो । तर त्यो मान्छे हाम्रो होटलमा आएकै थिएन ।’ अछाम होटलका सञ्चालक बिमल स्वाँरले दिनेश खबरसँग भने, ‘अहिले भारतबाट आउने कसैलाई पनि होटलमा बस्न दिदैनौँ मलाई अचम्म लाग्यो । त्यो मान्छेले कसरी हाम्रो होटलको नाम लियो ।’
तर प्रहरीले भने उनको होटलमाथि मंगलबार रातीदेखि नै निगरानी बढाएको थियो । मंगलबार राती १० बजेदेखि बुधबार बिहान ११ बजेसम्म उनले दिएको सूचनालाई पछ्याउँदा समेत कुनै क्लु भेटिरहेको थिएन । जब ती युवकलाई चिन्ने जिल्ला प्रहरी कार्यालयमै कार्यरत एक जना सिनियर प्रहरी अधिकृतले भेटे त्यसपछि मात्र थाहा भयो कि उनी विगतदेखि नै सडक पेटीमा बस्दै आएका मान्छे हुन भनेर ।
‘ती युवकले भने जस्तो अपहरण भएको भन्ने कुराको अनुसन्धान गर्दै जाँदा साँचो नरहेको पुष्टि भयो । उनी धेरै वर्षदेखि सडक पेटीमा बस्दै आएको भन्ने कुरा खुल्न आएको छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले भने, ‘मानसिक रुपमा पनि स्वस्थ्य नरहेको जस्तो देखिन्छ । कतिबेला बैतडी घर भन्छन् त कतिखेर कञ्चनपुर भन्ने गर्छन् ।’
कार्की थरका बताउने ती युवकले बैतडीको देहिमाण्डौँ आफ्नो घर भएको बताएका छन् । प्रहरीलाई उनले नाम समेत कतिबेला दिपु त कतिबेला किसन भनिरहेका छन् । यद्यपी ती युवकको पहिचान गरी घर परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।