सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब धनगढीबाट सुदूर पहाडका ५ जिल्लामा नियमित हवाई उडान

२०७७ कार्तिक १२, ०६:३३ जनक विष्ट

धनगढीः १७ असोजमा परीक्षण उडान भएका पाटन, दीपायल र चैनपुर विमानस्थल सहित सुदूरपश्चिमका ५ पहाडी जिल्लामा धनगढीबाट नियमित हवाई सेवा सञ्चालन भएको छ ।

धनगढीलाई बेस बनाएर समिट एयरले दार्चुला र डडेल्धुरा बाहेकका बैतडी, बझाङ, बाजुरा, अछाम र डोटीमा नियमित हवाई सेवा गरिरहेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ । परीक्षणपछिका प्रारम्भीक उडान हेर्दा पहाडी जिल्लामा नियमित हवाई सेवा सञ्चालन गर्न सकिने देखिएतापनि निरन्तरता दिन सबै पक्षको साथ सहयोग आवश्यक पर्ने धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापा बताउँछन् ।

‘दार्चुला र डडेल्धुरा बाहेकका ५ वटै जिल्लामा समिट एयरले नियमित उडान गर्न थालेको छ ।’ उनले भने, ‘यसलाई निरन्तरता दिनुपर्छ । त्यसका लागि यहाँका सरोकारवाला सबै पक्षको भूमिका हुन्छ ।’ लामो समयपछि धनगढीबाट सुदूर पहाडका जिल्लामा हवाई सेवा सञ्चालन भएपनि निरन्तरताको आवश्यकता रहेको हो ।

परीक्षण उडान पछिको अवस्था हेर्दा नियमित हवाई सेवा सञ्चालन गर्न सकिने देखिएपनि कालान्तरमा कतै बन्द हुने त होईन भन्ने चिन्ता पनि धेरैले गरेका छन् । तर समिट एयरका बझाङ प्रतिनिधिको रुपमा काम गरिरहेका पर्यटन अभियान्ता किशोर खड्का भने अहिले देखिएका केही कमीकमजोरीलाई सुधार गर्न सकेमा निरन्तर हवाई सेवा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्छन् ।

‘यो १५/२० दिनको अवधीमा हामीले नियमित कार्यतालिका बाहेक पहाडी जिल्लामा अधिक उडान गर्यौ ।’ खड्काले भने, ‘त्यो यात्रुको चापकै कारण सम्भव भएको हो । अहिले भाडा केही महंगो भयो भनेर केही कुराहरु उठिरेहका छन् । भाडा समायोजन गर्न एकखालको छलफल चलाउन सकिन्छ । यी सबै विषयलाई सुधार गर्दै गयो भने नियमित उडान सम्भव देखिन्छ ।’

समिट एयरले अहिले डोटी र बझाङमा मंगलबार र शुक्रबार तथा बैतडीका लागि मंगलबार उडान भर्ने कार्य तालिका तय गरेको छ भने बाजुराको मार्तडी र अछामको साँफे विमानस्थलमा पनि हप्ताको २ दिन उडान भर्ने कार्यतालिका तय गरिएको जनाएको छ । तर त्यस बाहेक यात्रुको चापलाई ध्यानमा राखेर कार्यतालिका भन्दा बढि उडान भइरहेको छन् भने चार्टर उडानको समेत व्यवस्था रहेको जनाएको छ ।

सुदूर पहाडका जिल्लामा भइरहेको हवाई उडानलाई निरन्तरता दिन सके पर्यटन प्रवद्र्धनसँगै आर्थिक विकासमा समेत उल्लेख्य भूमिका खेल्ने विश्वास गरिएको छ । धनगढीका पर्यटन व्यवसायी दिनेशराज भण्डारीले धनगढीलाई केन्द्र बनाएर पहाडी जिल्लामा हवाई सेवा पुनः सञ्चालन हुनु सुखद पक्ष भएको बताए ।

उनले हवाई सेवालाई निरन्तरता दिदै पर्यटन प्रवद्र्धनसँगै पहाडी जिल्लामा आर्थिक गतिविधि बढाउन राज्यले ध्यान केन्द्रित गर्नुपर्ने बताए । ‘पहाडी जिल्लामा हाम्रा विभिन्न पर्यटकिय गन्तव्यहरु छन् । जसलाई सुन्दर सुदूरपश्चिम अभियान चलाएर पहिले पनि प्रचार गरेका थियौँ ।’ भण्डारीले भने, ‘ती गन्तव्यहरुमा बाह्य पर्यटक लैजाने वातावरण सरकारले बनाउनुपर्छ भने त्यो क्षेत्रमा आयआर्जनका काम समेत हामीले सुरु गर्नुपर्छ । त्यसबाट मानिसहरुले जहाड चढ्ने भाडा पनि बनाउन सकुन । ’

पहाडी जिल्लामा पर्यटक गए आयआर्जनमा बृद्धि हुने विश्वास व्यक्त गर्दै भण्डारी हवाई सेवालाई निरन्तरता दिनमा सबैले जोड दिनुपर्ने बताए ।

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस