सुदूरपश्चिमका अस्पतालमा उपकरण र जनशक्तिको मतलब छैन्, ५ करोड खर्चेर शैया थपिदै
धनगढीः सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र पहाडी ७ जिल्ला अस्पतालका लागि शैया (बेड) खरिदका लागि संघीय सरकारले ५ करोड १० लाख बजेट पठाएको छ ।
अस्पतालहरुमा ५ सय १० बेड खरिदका लागि पत्र आएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुमा बेड खरिदका लागि बजेटको सुनिश्चितता पठाएको जानकारी दिए ।
तर रकम भने विनियोजन गरिएको छैन् । सोही सुनिश्चितताका आधारमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले शैया खरिद गर्न सूचना प्रकाशन गरेको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख डाक्टर निरज अर्यालले संघीय शैया खरिदका लागि सूचना जारी गरिएको बताए ।
अस्पतालहरुमा पूराना बेड प्रतिस्थापन गर्न खरिद गर्न लागिएको जनाए । तर अस्पतालहरुले भने शैया बृद्धिले मात्र कोरोनासँग लड्न नसकिने बताएका छन् । महाकाली अस्पतालका मेसुु डाक्टर हरीकुमार श्रेष्ठले शैया खरिद भइरहेको कुरा जानकारीमा रहेको जनाए ।
तर नयाँ खरिद गरिएका शैयाको व्यस्थापन गर्न भौतिक संरचनाको अभाव रहेको उनको गुनासो छ । महाकाली अस्पताल र सेती प्रादेशिक अस्पताललाई ५० शैयाको अनुमति छ । अस्पताल व्यवस्थापन समितिले शैया थप गरेका छन् ।
संघीय सरकारले शैया बृद्धिका लागि रकम दिने र शैया बृद्धिका लागि समेत निर्णय र निर्देशिका तयार हुने प्रदेशको सामाजिक विकास मन्त्रालयको दावी छ । सेती प्रादेशिक अस्पताल अहिले १ सय २५ बेडमा सञ्चालन भइरहेको छ ।
प्रादेशिक अस्पतालले ५० शैयाको कोरोना अस्थायी अस्पताल समेत सञ्चालन गरेको छ । ‘१ सय ७५ शैया बढी अहिले सञ्चालनमा छन् । संघीय सरकारले शैया बृद्धिका लागि रकम पठाएको भनिएको छ। २ सय शैयामा सञ्चालन गर्ने भनिएको छ । तर भौतिक संरचना पनि आवश्यक होला ।’ उनले भने ।
कोरोना संक्रमितको उपचारका लागि आईसियु र भेन्टिलेटर सेवा अनिवार्य भएपनि सुदूरपश्चिममा भने शैया विस्तारमा ध्यान केन्द्रीत भएको हो । औसतमा दैनिक ३० जना संक्रमित भेटिरहेको सुदूरपश्चिममा कोरोना संक्रमितका लागि मात्र भनेर सेती प्रादेशिक अस्पतालमा पाँच वटा भेन्टिलेटर सहित १३ शैयाको आईसियु सेवा उपलब्ध छ ।
तर अन्य अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अझै आइसियु र भेन्टिलेटर सेवा विस्तार भएको छैन् । यस्तो बेला भेन्टिलेटर र आइसियु थप्दै जनशक्तिको समेत व्यवस्थापन गर्नुपर्ने भएपनि काम कुरो एकातीर कोम्लो बोकी ठीमितिर भनेझै शैया विस्तारमा जोड दिईएको आरोप लागेको छ ।
तर प्रदेशको सामाजिक विकास मन्त्रालयले भौतिक संरचना समेत बृद्धि गरिने जनाएको छ।
सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने, ‘सेती र महाकालीमा समस्या हुन सक्छ । पहाडी जिल्लाहरुमा भौतिक संरचना तयारीको अन्तिम चरणमा छ । पहाडी जिल्लाहरुमा समस्या नहोला । सेती र महाकालीमा समेत भौतिक संरचना बृद्धिमा समेत लगानी गर्दैछौँ ।’