सुदूरपश्चिममा कोरोनाबाट चालकको मृत्यु
प्रताप ओली, बझाङ : सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ ।
जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका युवकको शनिबार बिहान मृत्यु भएकोमा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्दिप ओखेडाले बताए ।
उनी झण्डै १ हप्तादेखि अस्वस्थ्य थिए । उनमा संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरिएको जनाएको छ ।
यो सँगै सुदूरपश्चिममा मृतकको संख्या ३२ पुगेको छ ।
यस्तै मृतक चालकका गाडी धनीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने लगायतका लक्षण देखिएपछि उनलाई धनगढी रेफर गरिएको छ ।