सुदूर नेपाललाई विश्वसँग जोड्दै

सम्झनामा गोविन्द

२०७७ कार्तिक ७, ०४:४३ नेत्र बिक्रम साउँद

देशमै बसेर राष्ट्रको सेवा गर्ने अठोट लिई २०७४ सालमा लोक सेवा आयोगद्वारा लिइएको प्रहरी सहायक निरीक्षक पदको परीक्षामा पूर्ण रुपमा सफल भई तालिमका लागि जुनियर प्रहरी अधिकृत शिक्षालयमा प्रवेश गर्नुको अघिल्लो दिन म सहित अरु केही साथीहरु धनगढीबाट आवश्यक बन्दोवस्ती सामग्रीसहित भरतपुर चितवनतर्फ हानियोै । २०७४ श्रावण महिना १९ गतेका दिन केही साथीहरु काठ्माण्डौँबाट र गोविन्दसहित हामीहरु नारायणघाटस्थित पारस बसपार्कमा रहेको होटल सतुञ्चलीमा भेट भयो ।

अपरिचित साथीहरुसंग साक्षात्कार गर्ने मौका पनि मिल्यो । त्यो नै पहिलो दिन थियो मित्र गोविन्द तिमी संग परिचित बनेको पहिलो दिन । अन्दाजी ५ फिट ८ ईन्चको उचाई, गहु गोरो वर्ण र पातलो शरीर, चेप्टो परेको कान, सेतो सर्ट, कालो पाइन्ट र खुकुरी क्रस भाद्गाउँले टोपी, हाँसिलो मुहार, मिठो मन्द बोली देख्दा र सुन्दा मलाई त्यही बेला नै असल साथीमा हुनुपर्ने सबै गुणहरु पाएको आभास भएको थियो । कुरा गर्दा पनि छोटो र मिठो, बोलीको जतिसुकै प्रशंसा गरे पनि कमै हुन्छ ।

शान्ति, सुरक्षा र अमन चयन, राष्ट्र र जनताको जिउ धनको सुरक्षा (सत्यम्, सेवा, सुरक्षाणम्) नेपाल प्रहरीको मूल मन्त्रलाई आत्मसाथ गर्दै सफलतापूर्वक तालिम सम्पन्न गर्ने दृढ विश्वासका साथ भरतपुर शिक्षालयमा प्रवेश गरियो । तालिमको दौरानमा अनुशासित, इमान्दार, मेहेनती प्रशिक्षार्थीको रुपमा आफुलाई प्राप्त गरेका थियौँ ।
तालिमका प्रत्येक चरणमा हुने बाह््य परीक्षा मध्ये दौडमा जहिले पनि उत्कृष्ट ! भित्र अट्न सफल हुन्थ्यौ । साथी तिमी संग तालिममा भोगेका तितामिठा अनुभवहरु थुप्रै छन् ।

समय बित्दै जाँदा २०७५ श्रावण २५ गते प्रहरी सहायक निरिक्षक आधारभुत तालिम १७४ औँ समूहको दीक्षान्त समारोह पनि सम्पन्न भयो ।.सोही दिन हामी पश्चिमतर्फ आउने साथीहरुले यात्राका लागि बस रिजर्भ गरेका थियौँ । सोही बसमा गोविन्द सहित थुप्रै साथीहरु आफ्नो अभिभावक परिवारका अन्य सदस्यहहरु संगै यात्रामा निस्कियौँ । विहान करिव ७ बजेको समयमा हाम्रो टोली सुदूरपश्चिम प्रदेशको प्रदेशद्धार चिसापानी कर्णालीमा आईपुग्यौँ । म मेरो आमा बुवा संगै गोविन्द आफ्नो बुढी आमा, श्रीमती र छोरीसंगै थियौँ ।

छोरीलाई काखमा लिदैँ अँगालोमा बेर्दै माया गरेको आज पनि मेरो आँखामा झलझली याद आइरहेको छ । घर बिदा सकिएपछि गोविन्दलाई सुर्खेतको एक चौकीको ईन्चार्जको जिम्मेवारी निर्वाह गर्ने अवसर मिलेको रहेछ । केही महिनामै उत्कृष्ट प्रहरीको रुपमा सम्मानित भएको मैले सामाजिक सञ्जाल मार्फत जानकारी पाएपछि मलाई गर्व लाग्यो ।

करिब २ वर्षको सुर्खेत बसाइपछि जिल्ला प्रहरी कार्यालय कैलाली सरुवा भएको जानकारी पाउन साथ मैले फोन गरे र गोविन्द तिमी कैलाली आउदै हो ? भनेर सोधे । हो यार अब त्यतै आउदैछु । मलाई घर पायक पनि पर्छ । बुढी आमा र अन्य परिवारलाई हेरविचार गर्न पनि सहज हुन्छ भन्ने उसको जवाफ पाए । मैले ल ल आउ, म पनि धनगढीमै छु भन्ने जवाफ फर्काउदै यतै भेटेर कुरा गरम्ला भन्ने प्रतिक्रिया जनाए ।

नेपालीहरुको महान चाड वडादशै नजिकिदै गइरहेको बेला यही कार्तिक १ गते बेलुकी अन्दाजी ८ बजेको समयमा सीमामा गैरकानुनी तरिकाले हुने भन्सार छलीका सामान ओसार पसार गर्ने गिरोहलाई निस्क्रिय पार्न खटिई गएको अवःथामा प्रहरी सहायक निरीक्षक गोविन्द र प्रहरी जवान राम बहादुर साउँद बिहानसम्म सम्पर्कविहिन भएको खवर पाएँ ।. तत्काल म र मेरो सहकर्मी साथी सुुरेन्द्र साउँद घटनास्थल तर्फ पस्थान ग¥यौ । आफु संगै रगत र पसिना बगाएको साथीको यस्तो दुःखद समाचार पाउन साथ मन थाम्न गाह्रो भयो ।

मान्छेहरुको भीड थुप्रै देखिन्थ्यो । घटना स्थलमा प्रहरी अधिकृत सरहरु र अन्य प्रहरी कर्मचारी, सशस्त्र प्रहरी बल लगायतको टोली व्यापक रुपमा परिचालन भएको थियो ।. घटना स्थलमा मुचुल्का उठाउँदै गर्दा सुनसान मोहना नदीमाथि तिम्रो हत्केला देखिएको थियो । प्रहरी पोशाकमै त्यस्तो अवस्थामा तिमीलाई देख्दा यो मन कति रोयो रोयो...? केवल तिम्रो तस्वीर आँखामा झलझली याद आइरह्यो ।

कर्तव्य पालनको शिलशिलामा आफ्नो ज्यानको आहुती दिन समेत तिमी पछि परेनौँ । परिवारको आशा र भरोसाको केन्द्र मात्र रहेनछौ । तिमी त एक आफ्नो समाजको प्रेरणाको स्रोत पनि रहेछौ । यो त मलाई तब मात्र थाहा भयो कि, मान्छेको भीडमा तिम्रो नामको चर्चा । परिचर्चा संगै खुला प्रशंसा गरेको मैले प्रत्यक्ष सुन्न पाएँ । घटना किन, कसरी घट्यो ? भन्ने विषयमा अनुसन्धानले पुष्टि गर्ने नै छ ।

म यति कुरामा विश्वास्त छु कि, तिम्रो आत्मले न्याय पाएको अनुभुति चाँडै नै गर्नेछ । तिम्रो परिवारले कानुुनी राज्यको पालना भएको महशुुस गर्नेछन् । तिमीले न्याय पाउनुपर्छ र दोषीले कडा भन्दा कडा सजायको भागेदार बन्नुपर्छ भनी गोविन्द हाईहाई, दोषीलाई फाँसी दे भन्दै नाराजुुलुस गर्दै थुप्रै मानिसहरु आफ्नो बुलन्द आवाज लिई बीच शडकमा उर्लिएका छन् । तिमी को हौ ? र कस्तो थियौ भन्ने यसले पनि प्रमाणित गरेको छ ।

जुन अकल्पनीय घटना नघट्नु थियो, घट्यो । यसले हामी सबैलाई दुखित तुल्याएको छ । अन्ततः तिम्रो आत्माले शान्ति पाओस् । स्वर्गमा बास होस् साथी । तिमी भौतिक रुपमा उपस्थित नभए पनि तिम्रो असल व्यवहार र कामले सदैव हाम्रो मन मष्तिष्कमा जिवित रहने छौ । अलविदा गोविन्द...।

नेत्र बिक्रम साउँद प्रहरी सहायक निरीक्षक (१७४ औँ समूह, अन्नपूर्ण)
 

नेत्र बिक्रम साउँद
कमेन्ट लोड गर्नुस