सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा सीमा क्षेत्रमा न्यून सुरक्षाकर्मी परिचालन गरिदा असुरक्षा बढ्दो

२०७७ कार्तिक ७, ०७:०६ जनक विष्ट

धनगढीः गत शनिबार नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज सहित २ प्रहरीको हत्याको घटनाले यतिबेला आम नागरिक मात्र नभई सिङ्गो प्रहरी संगठन समेत भयभित छ ।

डिउटीमा खटिएका बेला प्रहरीको हत्या भएपछि पर्याप्त जनशक्तिको अभाव, जोखिमयुक्त क्षेत्रको सुरक्षा संवेदनशिलता अनुसारको पूर्व तयारीको अभाव, हातहतियारको कमी लगायतका पक्षमा स्वयंम प्रहरी चुकेको विश्लेषण हुन थालेको छ ।

तस्करी नियन्त्रण गर्न खोज्दा प्रहरीको निर्मम हत्या गरिएको घटनाको गम्भीर समिक्षा गर्दै भावी रणनीति समेत बनाउनुपर्ने सुझाव दिईएको छ ।

‘यो घटनाको जिम्मा सरकारले लिनुपर्छ । सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्ने जिम्मेवारी नेपाल प्रहरी भन्दा पनि भन्सार र सशस्त्र प्रहरीको हुन्छ ’ नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल भन्छन्, ‘तर प्रहरीको चासो यति धेरै किन ? अपराधिको टार्गेटमा प्रहरी नै किन पर्यो ? ठुलो सामान तस्करी भइरहेको सूचना थियो भने १/२ जना मात्र जानु हुन्थ्यो की हुदैन्थ्यो ? यी यावत पक्षको गम्भीर समिक्षा गर्नुपर्छ ।’

कैलालीमा नेपाल–भारत खुल्ला सीमा नाका भएका कारण चोरी तस्करी अधिक हुने गरेको प्रहरीले बताउँदै आएको छ । तर चोरी तस्करी हुने कुरा जगजाहेर हुँदाहुँदै पनि धनगढीसहित जिल्लास्थित सीमा क्षेत्रमा स्थापना गरिएका प्रहरी पोष्ट तथा चौकीहरुमा आवश्यकता अनुसार जनशक्ति नखटाउदा जोखिम बढेको छ ।

अझ चोरी तस्करीको ट्राजिन्ट प्वाइन्ट समेत मानिदै आएको जुगेडा क्षेत्रमा विगतमा समेत प्रहरी अधिकारीहरुमाथि आक्रमण तथा ज्यान मार्ने सम्मका प्रयास भएका थिए । पटक पटक प्रहरीमाथि हमला हुने गरेपनि जनशक्ति थप्न सम्बन्धित निकायले वेवास्ता गरेको देखिएको छ ।

तर कैलालीका प्रमुख प्रहरी उपरीक्षक दिलिप देउवाले भने जनशक्ति अभाव संगठन भित्रको पुरानै समस्या भएको बताउँछन् । उनले जनशक्ति लगायतका आवश्यक पूर्वाधारका लागि माथिल्लो निकायलाई जानकारी गराउँदै आएको जनाउँदै कतिपय विषय अनुसार सामाधान समेत हुदै गएको बताए ।

सीमा क्षेत्रमा खटिएका प्रहरी अधिकृतहरुसँग असामान्य परस्थिती सिर्जना भए त्यसको सामना गर्न आवश्यक पर्ने हातहतियारको समेत अभाव हुने गरेको छ  भने सीमित जनशक्ति हुँदा समय तालिका छुट्याएर १/२ जनाले मात्र गस्ती गर्नुपर्ने बाध्यता रहेको सीमा क्षेत्रका प्रहरी कर्मचारीले बताउँदै आएका छन् ।

तर जिल्ला प्रशासन कार्यालय कैलालीले भने सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर सुरक्षाकर्मीको संख्या बृद्धि गदै आवश्यक हातहतियारको समेत बन्दोबस्त मिलाउने जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले सीमा क्षेत्रको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिने बताए ।

उनले हातहतियार सहितका अन्य पुर्वाधारको समेत उचित प्रबन्ध मिलाइने जानकारी दिए । गत शनिबार गस्तीमै खटिएका बेला हस्या गरिएका अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद सञ्चार सम्पर्कबाट बाहिर रहेको पाईएको थियो ।

गस्तीमा खटिएका बेला उनीहरु सञ्चार सेट नबोकेका कारण तत्कालै घटनाबारे थाहा हुन सकेको थिएन्। प्रहरीका अनुसार एउटा मात्र सञ्चार सेट भएकाले कार्यालयमै छोडेर उनीहरु गस्तीमा निस्कीएका थिए । 

  

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस