सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्थानीय तहले वेवास्ता गरेपछि युवाहरुले मिलाइदिए घरविहीनलाई बसोबासको व्यवस्था

२०७७ कार्तिक ६, ०२:०१ खबर संवाददाता

धनगढी: डडेल्धुराको भित्रीमधेस क्षेत्र अन्तरगत परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको सीमा क्षेत्रमै रहेको सडक किनारमा आमाछोरा सानो प्लास्टिकको छाप्रोमा बसिरहेका थिए। 

उसो त ८५ वर्षीया बुद्ध आमा जदबुदेवी र ३५ वर्षीय छोरा जयबहादुर बागको घर परशुराम नगरपालिका–१ मा पर्छ। तर ९ वर्षअघि भीरबाट लडेर शारीरिक रुपमा अशक्त भएपछि जयबहादुरलाई उनका भाइले घर निकाला गरेकाले आमाछोरा झुपडीमा बस्न बाध्य भएका थिए।

ह्विलचेयरको शहारामा रहेका जयबहादुर त्यसपछि कोठा भाडामा लिएर परशुराम नगरपालिका–१२ को तुलाभाडीमा बस्दै आएका थिए। तर कोठा भाडा तिर्न रकम नभएकाले उनीसँगै आमा अहिले परशुराम नगरपालिका र आलिताल गाउँपालिकाको सीमा क्षेत्र सिस्ने खोलाको डिलमा प्लाष्टिक टाँगेर बसिरहेका छन्। 

उनीहरुको त्यो हालत देखेपछि सोही क्षेत्रमा एउटा गैरसरकारी संस्थाको कार्यक्रमको शिलशिलामा कार्यरत गणेशथापा मगरको मनले मानेन। डडेल्धुराकै अमरगढी नगरपालिका–५ खलंगा घर भएका मगर एक समाजिक अभियान्ता भएकाले पनि होला घरबिहिन आमाछोराका लागि आभियान चलाउने निधो गरे। र, गत शनिबार मात्रै उनीहरुका लागि टेण्ट र खाद्यान्न व्यवस्थापन गर्न मगरले समाजिक संजालमा सहयोगका लागि पोष्ट गरेका थिए। 

स्टाटस पोष्ट गरेको २४ घण्टासम्म अभियान चल्यो र देश तथा विदेशबाट ५९ हजार संकलन भयो। सोही संकलन भएको रकमबाट गणेश थापा मगरले एउटा टेण्ट, लुगाकडा र  खाद्यान्न सामग्री खरिद गरी घरविहीन आमाछोरालाई हस्तान्तरण गरेका छन्। मगरसँगै सीस्ने खोला पुगेका युवाहरुले सो सामग्री जयबहादुरलाई बुधबार हस्तान्तरण गरेका हुन। 

आफुहरुले टेण्ट, सिरक डशना, ७५ किलो चामल, ५ किलो दाल, ५ किलो चिउरा, ५ किलो नुन, १ पेटी खाने तेल, १ पेटी चाउचाउ हस्तान्तरण गरेको गणेशथापा मगरले बताए। ‘सामाजिक संजालबाट सुरु गरिएको अभियानले २४ घण्टामै राम्रो नतिजा ल्याएको छ। घरबिहिनले सामान्य भएपनि सहयोग पाएका छन्। यो अभियानमा जोडिएका सम्पूर्णमा आभार’ उनले भने, ‘अब केहि दिनमा सोलार लाइट र न्यानो लुगा हस्तान्तरण गर्ने योजना रहेको छ।’ साथै उनले स्थानीय तहबाट पनि सहयोग गर्ने प्रतिबद्धता आएको बताएका छन्। 

उता सहयोग पाएपछि जयबहादुर बाग र उनकी आमा पनि खुसी भएका छन्। ‘अहिलेसम्म सहयोगका लागि स्थानीय तहलाई बारम्बार भन्यौं तर कसलै सहयोग गरेन’ जयबहादुले भने, ‘युवाहरुले यो पालिको दशैंमा राम्रो उपहार दिएका छन्। अब त स्थानीय तहले पनि सहयोग गर्छौ भनेका छन्, हेरौ के हुन्छ।’

अहिले सामाजिक सुरक्षा भत्ताबाट ती दुवै आमाछोराको दैनिकी चलिरहेको छ। आमाले जेष्ठ नागरिक र जयले आपाङ्गता वाफतको सामाजिक सुरक्षा भत्ता पाउँछन्। 
 

कमेन्ट लोड गर्नुस