सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार नाघ्यो
धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ ।
प्रदेशमा ९ वटै जिल्लामा ९ हजार ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सामाजिक विकास मन्त्रालयले भने प्रदेशमा संक्रमितको संख्या ८ हजार ७ सय ६९ रहेको जनाएको छ ।
प्रदेश बाहिर बस्दै आएका सुदूरपश्चिमका संक्रमितको तथ्याङ्क समावेश नगरेका कारण संख्या कम देखिएको मन्त्रालयको भनाई छ ।
सुदूरपश्चिममा सबैभन्दा धेरै कैलालीमा ३ हजार ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये दुई हजार ७ सय १० जनाले कोरोना जितेका छन् भने ११ जनाको मृत्यु भईसकेको छ ।
यस्तै डोटीका एक हजार २ सय १८, अछामका एक हजार एक सय ३२, कञ्चनपुरका नौ सय ८०, बझाङका ६ सय १, बाजुराका चार सय ५९, बैतडीका चार सय ६७, डडेल्धुराका तीन सय ८३ र दार्चुलाका २ सय १ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रदेशभर संक्रमण पुष्टि भएका ७ हजार ३ सय ९१ जनाले कोरोना जितेका छन् भने २६ जनाको मृत्यु भएको छ ।