धनगढीमा होम आइसोलेसनमा मृत्यु भएका संक्रमितको शव व्यवस्थापन
धनगढीः धनगढीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका पुरुषको शव व्यवस्थापन गरिएको छ। उनको शव गोदावरी नगरपालिका–२ स्थित तेघरी सामुदायिक वनमा व्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ।
कैलालीको तेघरीस्थित भवानी दल गणबाट सह–सेनानी नबलसिंह रोकायाको कमान्डमा खटिएको तालिम प्राप्त सैनिक टोलीले शव व्यवस्थापन गरेको हो। गणबाट मुलपण्डित समेत गई धार्मिक परम्परा बमोजिम अन्त्यष्टि गरिएको बताइएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४२ वर्षीय संक्रमित पुरुषको आइतबार बिहान होम आइसोलेसनमा मृत्यु भएको थियो। क्यान्सर पीडित ती पुरुषलाई असोज १७ गते कोरोना पुष्टि भएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।