सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकबाट एक महिनामै दुई लाख २७ हजार राजस्व सङ्कलन

२०८२ मंसिर २५, ०१:२७ खबर संवाददाता

कञ्चनपुर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्र दुई लाख २७ हजार १२९ रुपियाँ राजस्व सङ्कलन गरेको छ। असोजदेखि सफारी खुला गरिए पनि पर्यटकहरूको आगमन कात्तिकदेखि उल्लेख्य रूपमा बढेपछि राजस्व वृद्धि भएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। कात्तिक महिनामा २५० महिला र ३४८ पुरुष गरी कुल ५९८ जनाले निकुञ्ज क्षेत्रको अवलोकन गरेका थिए।

निकुञ्जले गत आर्थिक वर्ष २०८१-८२ मा तीन हजार ७२२ पर्यटकबाट जम्मा १९ लाख ५३ हजार ७७० रुपियाँ राजस्व सङ्कलन गरेको थियो। वैदेशिक तथा सार्क देशका पर्यटकहरूसहित एक हजार ६ सय महिला र दुई हजार पुरुषले गत आवमा निकुञ्ज भ्रमण गरेका थिए। तीमध्ये वैशाख महिनामा सबैभन्दा धेरै ३२४ महिला र ४७६ पुरुष गरी आठ सय पर्यटकले अवलोकन गरे र सोही महिनामा तीन लाख रुपियाँ राजस्व प्राप्त भयो।

गत आर्थिक वर्षका अन्य महिनाहरूमा पनि उल्लेख्य संख्यामा पर्यटक आएका थिए। फागुनमा २११ महिला र २४९ पुरुषले अवलोकन गरी निकुञ्जले दुई लाख २७ हजार ८१० रुपियाँ उठायो। पुसमा २३२ महिला र ४ पुरुषबाट एक लाख ५० हजार ७०९, कात्तिकमा ३२६ पर्यटकबाट एक लाख ६१ हजार ८१५, मङ्सिरमा ३८९ पर्यटकबाट एक लाख ८७ हजार ६११, माघमा २७१ पर्यटकबाट एक लाख ६१ हजार १०२, चैतमा ५२० पर्यटकबाट तीन लाख ७९ हजार ७७०, जेठमा ४२३ पर्यटकबाट दुई लाख ८४ हजार २४८ र असारमा १११ पर्यटकबाट ९० हजार ७५२ रुपियाँ राजस्व उठाइएको कार्यालयले जनाएको छ।

निकुञ्जले आन्तरिक पर्यटकबाट एक सय रुपियाँ, सार्क मुलुकका पर्यटकबाट आठ सय रुपियाँ र बाह्य मुलुकका पर्यटकबाट एक हजार पाँच सय रुपियाँ शुल्क लिँदै आएको छ। निकुञ्ज भित्र सवारी साधन प्रयोग गर्दा थप शुल्क लाग्ने व्यवस्था पनि रहेको छ।

बाह्रसिङ्गाका लागि प्रख्यात शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ठूलो झुन्डमा बाह्रसिङ्गा अवलोकन गर्न सकिने भएकाले विभिन्न मुलुकका पर्यटक आकर्षित हुने गरेको निकुञ्जका प्रमुख चन्द्र शेखर चौधरीले बताए। उनका अनुसार यो क्षेत्र विश्वकै सबैभन्दा ठूलो घाँसे मैदानमध्ये एक भएको र यसको जैविक विविधता संरक्षण नै निकुञ्जको मुख्य लक्ष्य रहेको छ। पर्यटकलाई कुनै समस्या परे मार्गमा रहेका चेकपोस्टमार्फत सहयोग उपलब्ध गराइने व्यवस्था गरिएको उनले स्पष्ट पारे।

(गोरखापत्रबाट साभार)

कमेन्ट लोड गर्नुस