सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा कर्णालीको विवाद अध्यक्षद्वयले मिलाउने

२०७७ कार्तिक १, ०८:४२ रासस

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशसभाभित्रको विवाद पार्टीका अध्यक्षद्वयको आपसी परामर्शमा समाधान हुने भएको छ। सो प्रदेशसभामा रहेका नेकपाका बहुमत सदस्यले पार्टीको प्रदेशसभा दलमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत साता अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बाहिरिएको थियो। विवाद बढेपछि पार्टीको नेतृत्वले चासो दिन थालेपछि असन्तुष्ट प्रदेशसभा सदस्यहरु काठमाडौँ आएर राजनीतिक भेटघाटमा जुटेका थिए।

उनीहरुले आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना कुरा राखेका थिए। जवाफमा प्रधानमन्त्री ओलीले आफू र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बसेर यस विवादको समाधान गर्ने जनाउनुभएको प्रदेश सांसद गुलाबजंग शाहले जानकारी दिए। उनले पार्टी नेतृत्वको निर्णय र निर्देशन आफूहरुलाई मान्य हुने स्पष्ट गरे। ती सदस्यले शुक्रबार अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेका थिए।
 

कमेन्ट लोड गर्नुस