डोटीबाट यात्रु नलिई जहाज धनगढी फर्किनुमा को दोषी?

धनगढीः समिट एयरले शुक्रबार धनगढीबाट डोटीका लागि पहिलो उडान भरेको छ। बिहान १० बजेर ३० मिनेटमा धनगढीबाट १६ यात्रु लिएर समिट एयर डोटी पुगेको थियो।
डोटीबाट धनगढीका लागि टिकट काटेका यात्रु नलिई समिट एयर धनगढी फर्किएपछि पहिलो दिनकै उडान खल्लो भएको चर्चा हुन थालेको छ। तर समिट एयर डोटीबाट यात्रु नलिई धनगढी फर्किनुमा दोषी को हो? यात्रु वा चालक दलका सदस्य।
सामाजिक सञ्जालमा पक्ष र विपक्षमा तर्क हुन थालेका छन्। ११ बजे डोटी विमानस्थलमा अवतरण गरेको समिटको जहाज ११ः१५ मा धनगढीका लागि उडेको थियो। यात्रुहरुले जहाज निर्धारित समय भन्दा १५ मिनेट अगाडी उडेपछि आफूहरु छुटेको बताउन थालेका छन्। डोटीका हेमराज खनालले आफू विमानको ढोकामा पुगेर फर्किनु परेको बताए। ‘हामी आइसकेका छौं, अहिल्यै विमान उडेको पनि छैन, ढोका खोल्नुहोस् भन्दा पनि मानेनन्’ उनले भने।
तर समिट एयरले भने जहाज स्टार्ट भएपछि विमानस्थल पुगेका यात्रुलाई ल्याउन नसकिएको जनाएको छ। नियम अनुसार हवाइ यात्रा गर्न टिकट लिएका यात्रुले एक घण्टा अगावै विमानस्थल पुग्नुपर्ने प्रावधानलाई कोरोना महामारीका कारण बृद्धि गरेर नेपाल नागरिक उड्यन प्राधिकरणले डेढ घण्टा बनाएको छ।
बुद्ध एयरलायन्स धनगढीका प्रमुख बुधराम माझीले अहिले सुरक्षा जाँचका अतिरिक्त कोडिभको जोखिमका कारण मास्क, सेनेटाइजर लगायतका स्वास्थ्य सुरक्षाका सामाग्री प्रयोग गरे/नगरेको कुरा समेत हेर्नुपर्ने भएकाले नेपाल नागरिक उड्यन प्राधिकरणले नै डेढ घण्टा अगाडी विमानस्थल पुग्नुपर्ने निमय बनाएको हो।
उक्त समयमा पुग्न नसक्ने यात्रुहरुको हकमा उडान समय भन्दा १५ मिनेट अगाडी जसरी पनि पुग्नुपर्ने नियम छ। तर डोटीमा छुटेका यात्रु जहाज स्टार्ट भएपछि मात्र पुगेपछि विमान उनीहरुलाई छोडेर उडेको हो।
समिट एयरलाई उदृत गर्दै धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले पनि जहाज समयमै उडेको भएपनि यात्रु विमानस्थल आउन ढिलाई हुँदा छुटेको बताए।

