सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बलात्कृत बालिकाका बुवाले छुवाछुत गरेको भन्दै कारागार चलान, काका धरौटीमा छुटे

२०७७ असोज २९, १२:०६ खबर संवाददाता

प्रताप ओली, बझाङ: बझाङको थलारा गाउँपालिका–३ को देवलबाँझकी एक १४ वर्षीया बालिका बलात्कार घटना क्रममा जातिय छुवाछुत गरेको भन्दै उजुरी परेपछि प्रहरी हिरासतमा रहेका बालिकाका बुबा धरौटी तिर्न नसकेर कारागार चलान भएका छन् भने बालिकाका काका धरौटी तिरेर छुटेका छन्। 

बलात्कार भएकी भनिएकी बालिका बुबालाई जातिय छुवाछुत गरेको भन्दै जिल्ला अदालत बझाङले ५० हजार धरौटी माग गरेको छ भने काकालाई २५ हजार धरौटी माग गरेको थियो।

गत भदौ १६ गते थलारा गाउँपालिकाकी खत्री थरकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय २६ वर्षीय दिनेस पार्कीलाई प्रहरीले भदौ १८ गते पक्राउ गरेको थियो। पक्राउ परेका पार्कीले प्रहरी र अदालतसमक्ष अपराध स्वीकार गरिसकेका छन्।

जिल्ला अदालत बझाङको आदेशमा उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। यसै घटनाका क्रममा पिडित बालिकाका बुबा र काका विरुद्ध पनि दलित पक्षले छुवाछुत गरेको भन्दै उजुरी दिएको थियो। 

सोही उजुरीमाथि अनुसन्धानका क्रममा दुवैजनालाई तारिकमा बोलाउने गरी जिल्ला अदालतले क्रमशः ५० हजार र २५ हजार धरौटी माग गरेको थियो।
 

कमेन्ट लोड गर्नुस