बैतडीको सुर्नयाका अध्यक्ष बिष्टमाथि कुटपिट निन्दनीय : कांग्रेस

बैतडी: नेपाली कांग्रेस बैतडीका सचिव एवं सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टमाथि भएको आक्रमणप्रति नेपाली कांग्रेस बैतडीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली कांग्रेसले बिहिबार विज्ञप्ती जारी गर्दै कुनै बिषयवस्तुको निर्णय लिनुपर्दा वैधानिक र कानुनी बाटो हुँदाहुँदै अमानवीय घटना हुनु दुर्भाग्यपूर्ण भएको जनाएको छ।
ज्यान जान सक्ने हिसाबले घटाइएको सो घटनाको वास्तविक छानबीन गरी दोषीमाथि कडा कारवाही गर्न पनि कांग्रेसले सरकालाई आग्रह गरेको छ। मुलुक लोकतान्त्रिक बाटोमा अगाडि बढीरहेका बेला यस्ता घटना हुनु लोकतन्त्रका लागि चुनौती भएको कांग्रेसको ठहर छ।
नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता खालका घटनाहरुलाई निरुत्साहित हुने गरेर दोषी पत्ता लगाई कानुनी कारवाही गर्न समेत आग्रह गरिएको छ।
गाउँपालिकाको केन्द्रका विषयमा भएको विवादले उग्र रुप लिएपछि गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टमाथि बुधबार साँझ आक्रमण भएको थियो। सो घटनामा प्रहरी सहित अन्य पनि घाइते भएका छन्।

