सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको स्वास्थ्य आपुर्ति केन्द्रको जिम्मेवारीबाट हटाइए अवस्थी, प्रमुखमा अर्याल नियुक्त

२०७७ असोज २८, ०१:१५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका  प्रमुख डाक्टर गुणराज अवस्थीलाई  जिम्मेवारीबाट हटाईएको छ।

मंगलबार सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ११ औँ तहका डाक्टर अवस्थीलाई आपुर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारी हटाउँदै १० औँ तहका डाक्टर निरज अर्याललाई नियुक्त गरिएको छ।

सामाजिक विकास मन्त्रालयका सचिव रघुराम विष्टले अर्याललाई स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी दिईएको दिनेश खबरलाई जानकारी दिए।

‘अवस्थी डाक्टर सापलाई स्वास्थ्य निर्देशनालय र आपुर्ति केन्द्रको दोहोरो जिम्मेवारी दिईएको थियो। त्यसले काम गर्न प्रेसर थियो।’ सचिव विष्टले भने, ‘अब उहाँले निर्देशनालय मात्र हेर्नुहुन्छ भने डाक्टर अर्यालले आपुर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखका रुपमा काम गर्नुहुन्छ।’  

प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रमा ११ औँ तहको दरबन्दी भएपनि सामाजिक विकास मन्त्रालयले भने दोहोरो जिम्मेवारीको कारण देखाउँदै अवस्थीलाई हटाउँदैँ १० औँ तहका अर्याललाई निमित्त प्रमुखमा नियुक्त गरेको हो। डाक्टर अवस्थी अल्ट्रासाउण्ड खरिदमा विवादित बनेका थिए।

मिलेमतोमा महंगो मूल्यमा अल्ट्रासाउण्ड उपकरण खरिद गरेको भन्दै अवस्थी विवादमा तानिएका थिए भने उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानविन गरिरहेको जनाएको छ।

महालेखा परिक्षकको प्रतिवेदनले ऐन कानुन विपरीत कर्मचारीहरुलाई न्यूनतम २० हजारदेखि एक करोड ७६ लाख सम्म पेश्की दिएर कार्यक्रम सञ्चालन गरेको पाईएको उल्लेख गरिएको थियो।

‘न्यूनतम २० हजारदेखि एक करोड ७६ लाखसम्म एकै व्यक्तिलाई पेस्की दिई कार्यक्रम सञ्चालन गराएको अवस्था छ,’ बार्षिक प्रतिवेदनमा भनिएको छ, ‘कार्यालयले उपलब्ध गराएको विवरण अनुसार १७ व्यक्तिलाई ८ करोड ९१ लाख ५१ हजार पेस्की दिएकोमा पुरै रकम खर्च हुन नसकी ४९ लाख ८२ हजार रकम फिर्ता भएको छ। पेस्कीमाथि पेस्की दिई वर्षको अन्तमा फाँटवारी पेश गरी पेस्की फछ्र्यौट गरेको छ।’

पेस्की लिई लामो समयसम्म कार्यक्रम नगरी व्यक्तिको खातामा रकम रहने र पछि कार्यक्रम सञ्चालन गर्ने तथा आर्थिक वर्षको अन्त्यमा रकम फिर्ता गर्ने प्रवृतिले सरकारी रकमबाट कर्मचारीले लाभ लिने प्रवृत्तिमा नियन्त्रण गर्नुपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ।

डाक्टर अवस्थी कोरोना भाईरसको महामारीका नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिदमा समेत मिलोमतोमा टेण्डर पारेको भन्दै विवादमा तानिएका थिए। यद्यपी अवस्थीले ती आरोपहरुमा सत्यता नभएको दावी गर्दै आएका छन्। 

कमेन्ट लोड गर्नुस