कैलालीमा ६० भन्दा बढीको गतिमा सवारीसाधन चलाउनेमाथि लिडर स्पिड गनमार्फत निगरानी

धनगढीः सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले प्रविधिको प्रयोग गर्दै सवारीको गति नाप्न सुुरु गरेको छ। प्रहरी प्रधान कार्यालयले वितरण गरेको लिडर स्पिड गनमार्फत प्रदेश ट्राफिक प्रहरी कार्यालयले सवारीको गति नाप्न थालेको हो। प्रदेश ट्राफिक कार्यालयले मंगलबार उक्त कार्यको अभ्यास गरेको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले एक हजार दुई सय मिटरको दुरीबाट नै सवारीको गति बारे गनमार्फत जानकारी लिन सकिने बताए। उनका अनुसार ६० मिटरको दुरीमा रहेको सवारीको गुडिरहेको क्षेत्र, गति, तस्बिर, सवारीको नम्बरसहितको पूर्ण जानकारी प्रविधिमार्फत लिन सकिने छ।
धनगढी–अत्तरिया सडकखण्ड र पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा प्रविधिमार्फत सवारीको गति परीक्षण गरिने उनले बताए। पूर्व–पश्चिम राजमार्गमा ४० किलोमिटर प्रतिघण्टाको गति कायम गरिएको छ भने धनगढी–अत्तरिया सडकका लागि ६० किलोमिटर प्रतिघण्टा गति कामय गरिएको छ।
तय गरिएको गति भन्दा बढीमा सवारी सञ्चालन गरे पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना हुनेछ।
१२ लाख मुल्यको एउटा लिडर स्पिड गन प्रदेश ट्राफिक कार्यालयलाई प्रहरी प्रधान कार्यालयले सहयोग गरेको हो।

