सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालन, उड्ने होइन त रुबसकाँडाबाट ?

२०७७ असोज २८, १२:०३ आशिष मल्ल

धनगढी: सुदूरपश्चिममा पहिलो पटक डोटीको रुबसकाँडामा नियमित रुपमा प्याराग्लाइडिङ सञ्चालनमा आएको छ। परीक्षण उडान सफल भएपछि डोटीको जोरायल गाउँपालिका–२ को रुबसकाँडाबाट नियमित रुपमा साहसिक प्याराग्लाइडिङ सञ्चालनमा आएको हो। 

असोज २६ गतेबाट संचालनमा आएको प्याराग्लाइडिङ साहसिक खेल खेल्नेहरुका लागि खुलिसकेको छ। छतिवन पर्यटन प्रवद्र्धधन संरक्षण समिति र बैतडी अमेजिङ एडभेन्चर प्रालिको संयुक्त सहकार्यमा प्याराग्लाइडिङको सुरुवात गरेको समितिका अध्यक्ष भरत कुँवरले बताए। 

रुबसकाडाको भगतडाँडा(भ्यू प्वाइन्ट)बाट उड्ने फ्लाइट करिब १५ देखि २० मिनेट आकाशमा रहने उनले बताए। प्याराग्लाइडिङको ल्यान्डिङ छतिवन ताल, बुडर र बिथल गरी तीन स्थानमा गर्न सकिने अध्यक्ष कुँवरले बताए। 

 

आफुहरुले दशैंतिहारलाई मध्यनजर गर्दै उक्त कार्यको सुरुवात गरेको उनले बताए। ‘प्याराग्लाइडिङको माध्यमबाट पर्यटन विकास गर्ने उदेश्यले दशैंतिहारको उपलक्ष्यमा सुरुवात गरेका छौ’ उनले भने, ‘प्याराग्लाइडिङमार्फत पोखरापछिको पर्यटकिय स्थल बुडरको झरना, छतिवन ताल र भगत डाडाहरुको आकाशबाटै मजा लिनसकिनेछ।’ 

अहिलेसम्म प्याराग्लाइडिङ संचालनका लागि करिब ७ लाख लगानी लागेको समितिले जनाएको छ। प्याराग्लाइडिङको शुल्क ३ हजार ९ सय निर्धारण गरेको बताइएको छ। 

 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस