सुदूरपश्चिमका बजारमा मासुको भाउमा उत्तारचढाव, दशैँमा मूल्य बृद्धि हुने चिन्ता

नारायण अवस्थी
धनगढीः सुदूरपश्चिमका बजारमा मासुजन्य वस्तुको मूल्य अस्थिर देखिएको छ। कोरोना भाईरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन र निषेधाज्ञाका बेलादेखि नै मासुजन्य वस्तुको मूल्य समेत अस्थिर भएको पाईएको छ।
व्यापारीहरुले भने खसीबोकाको उत्पादन कम भएको भन्दै खरिद गर्दा नै बढि पर्ने हुँदा मूल्य बृद्धि भएको बताएका छन्। दशैँका बेला आपुर्ति घटेमा थप महंगी बढ्ने आशंका गरिएको छ। बजारमा मासु मात्र नभएर कुखुरा, माछा तथा अण्डाको मूल्यमा समेत दैनिक जसो फेरबदल हुने गरेको छ।
धनगढीका स्थानिय सुरथ चन्दले पसलै पिच्छे बजारमा मासुको मुल्य फरक हुँदा उपभोक्ता मर्कामा परेको गुनासो गरे। ‘धनगढीमा मासु पसल अनुसार फरक फरक मूल्य लिने गरिएको छ। यसले हामी आम उपभोक्तालाई समस्या भईरहेको छ।’ उनले भने, ‘व्यापारीहरुले आफूखुसी जथाभावी मूल्य लिदा समेत स्थानीय प्रशासन बेखबर जस्तै देखिएको छ।’
लकडाउन र निषेधाज्ञा अघि खसीको मासु प्रति किलो आठ सय ५० थियो भने अहिले प्रति किलो ५० रुपैँया बृद्धि गर्दै नौ सयमा बिक्रि भईरहेको छ। तर मासु व्यवसायीहरुले भने मूल्य बृद्धि हुनुमा आपुर्ति व्यवस्था प्रमुख कारण भएको बताएका छन्।
धनगढीका मासु व्यवसायी टीकाराम ढुङ्गानाले सुदूरपश्चिमबाट खसीबोका निकासी हुनु नरोकिएपछि समस्या भएको बताए। उनले प्रदेशमा खसीको मासुको मूल्य बढ्नुका कारण खसीबोकोको पर्याप्तता नहुनु भएको बताए। दशैँका बेला बजारमा मासुको मूल्य थप बृद्धि हुने आशंका गरिएको छ। कुखुराको मासुको मूल्यमा समेत उत्तारचढाव भईरहेको पाईएको छ।
लकडाउन भन्दा पहिले प्रति किलो दुई सय ८० देखि तीन सयमा बिक्रि हुदै आएको कुखुराको मासु लकडाउनका बेला प्रती किलो पाँच सय सम्म पुगेको थियो। तर अहिले घटेर दुई सय ६० मा बिक्रि भईरहेको व्यवसायीहरुले बताएका छन्।
लकडाउनमा बजार माग बढि र उत्पादन कम भएकाले मूल्य बृद्धि भएपनि अहिलेको अवस्था ठीक उल्टो रहेको छ। मासुको बजार मूल्यमा गिरावट आएपछि मर्कामा परेको कुखुरा पालक किसानहरुको गुनासो छ।
धनगढीका कुखुरा पालक किसान धनेन्द्र चौधरीले बजार मूल्यमा गिरावट आउँदा अपेक्षाकृत आम्दानी नभएको बताए। बजारमा खसीको मासुको मूल्य बृद्धि र कुखुराको मासुको मूल्यमा उत्तारचढाव भएपनि माछाको मूल्य भने स्थिर छ।
तर भारतबाट अस्वस्थकर माछा आयात हुने क्रम नरोकिएपछि लगानी अनुसारको प्रतिफल नपाएको गुनासो गरिएको छ। कैलालीका माछा उत्पादक किसान डेजी पाण्डेयले भारतबाट अवैध र अस्वस्थकर माछाको आयातले लगानी जोखिममा परेको बताए।

