सुदूरपश्चिमका संक्रमित सांसद धामी भन्छन्- मेरो स्वास्थ्य अवस्था सामान्य छ
धनगढी: मंगलबार सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामी(सन्तोष) लाई कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका धामीमा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमण देखिएपछि उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको समाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन्। साथै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरेका छन्।
उनले फेसबुकमा लेखेका छन्, ‘मेरो स्वास्थ्य अवस्था अहिले सामान्य छ। कोभिड–१९ देखिएकाले १५ दिन पहिलेदेखि मेरो सम्पर्कमा रहनुहुने मेरा आदरणीय व्यक्तित्व लगायत सम्पूर्ण साथीहरुलाई होम क्वारेन्टिनमा बसी सहयोग गरिदिन हुन अनुरोध छ।’