सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकामा रिक्सा चालक मनपरी भाडा असुल्दै, स्थानीय प्रशासन बेखबर

२०७७ असोज २७, ०८:४६ रोशन भट्ट

धनगढी : सोमबार विहान साढे ११ बजे तीर त्रिनगर–गौरीफन्टा नाका पुग्दा घर परिवारसँगै दशैं मनाउन भारतबाट स्वदेश फर्किनेहरुको भिड थियो। सोही भिडमा थिए, अत्तरियाका भीमबहादुर टमटा पनि। टमटा दशगजा क्षेत्रमा पुग्नासाथ ५/६ जना अटो रिक्सा चालकको घेराबन्दीमा परे।

चालकहरु उनीसँग भाडाको बार्गेनिङ गरिरहेका थिए। कसैले १५ सयमा अत्तरिया पुगाईदिन्छु भन्दै थिए भने, कसैले एक हजारमै पुगाईदिन्छु भनी उनलाई फकाई रहेको देख्न सकिन्थ्यो। जसोतसो घर पुग्नुपर्ने भएकाले टमटा पनि १३ सय सम्म तिर्न तयार थिए।

तर यसअघि घर फर्किदा ५० रुपैँयामा अत्तरिया पुग्ने टमटा रिक्सा चालकले ठुलो रकम भनेपछि एकाएक भाडा बढेको पो हो की भनेर एकछिन सोच्न बाध्य भए।

‘धनगढीदेखि अत्तरिया सम्मको १५ सय भाडा भनेपछि अचम्म लाग्यो,’ उनले भने, ‘सामान्य समयमा ५० रुपैँयामा धनगढीबाट अत्तिरिया पुगिन्थ्यो तर अहिले यती चर्को भाडा लिदा पनि प्रहरी प्रशासन उदासिन देखिएको छ।’ कैलालीको घोडाघोडी नगरपालिकाका स्थानीय सुरज सुनार पनि भारतमै रोजगारी गर्दै आएका छन्।

भारतमा सुनचाँदीको पसल सञ्चालन गर्दै आएका सुनार पनि घरपरिवार सँगै दशँैं मनाउन स्वदेश फर्किका छन्। उनलाई पनि सोमबार विहान त्रिनगर–गौरीफन्टा नाका पुग्दा सुखड सम्म पुगाईदिन्छु भनेर अटो रिक्सा चालकले तानातान गरिरहेका थिए। ती चालकले सुनारसँग १५ सयदेखि दुई हजार सम्म भाडाको बार्गेनिङ गर्दै थिए।

‘डेढ सय रहेको सुखडको भाडा १५ सय भन्दा बढी भन्दै छन्,’ उनले भने, ‘भारतबाट आएको देखेर बढी भाडा लिएको होला।’ भारतबाट फर्किने नेपालीबाट नाकामा अटो रिक्सा चालकले मनपरी भाडा असुल्दा समेत नियमनकारी निकाय वेवास्ता गरिरहेको उनले बताए।

त्रिनगर–गौरीफन्टा नाका भएर स्वदेश फर्किनेहरु नेपाल प्रवेश गर्ने वित्तिकै होल्डीङ सेन्टरमा आउँने गरेका छन्। त्यहाँ ईन्ट्री गराई सकेपछि पहाडी जिल्ला जानेहरु बसको खोजीमा लाग्ने गरेको भएपनि कैलाली, कञ्चनपुर स्थानीयलाई भने आटोवालाले नाकाबाट नै बार्गेनिङ गरेर होल्डीङ सेन्टर सम्म पुगाउने गरेका छन्।

होल्डीङ सेन्टरसम्म पुगाएको मात्र अटोवालाले दुई सय सम्म रकम असुली गरिरहेका छन्। त्रिनगर–गौरीफन्टा नाकाबाट अत्तरिया सम्म पुगाएको एक हजार भाडा लाग्ने गरेको एक जना अटो चालक निरज विश्वकर्माले बताए। गौरीफन्टा सीमा नाकाबाट केही दिन अगाडी सम्म भारत जानेहरुको संख्या धेरै थियो तर अहिले भने दर्शैँ मनाउन स्वदेश फर्किने क्रम बढेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको तथ्यांक अनुसार त्रिनगर–गौरीफन्टा नाकाबाट मात्रै पछिल्लो चार दिनमा झण्डै चार हजार प्रदेशवासी घर फर्किएका छन्। तर अटो रिक्सा चालकले मनपरी भाडा लिदा सास्ती भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने भाडा बढी लिएको भेटिए कानूनी कारवाही गर्ने बताए।

विगतमा त्रिनगर–गौरीफन्टाको व्यवस्थापन कैलाली प्रशासनले गर्दै आएको थियो। दशैँ तिहारको समयमा सीमामा हुने सास्ती कम गर्न दुवै देशका सुरक्षा अधिकारीले संयुक्त बैठक गर्ने, सीमाको अवस्था बुझ्न संयुक्त अनुमगमन समेत गर्ने तथा कुनै समस्या आईपरे तत्कालै समाधान खोज्ने गरेका थिए।

तर अहिले कञ्चनपुर प्रशासनले सीमाको व्यवस्थापन गर्दै आएकाले सीमामा हुने समस्या सामाधन गर्न तदारुकता नदेखाएको गुनासो समेत बढ्दो छ। सीमामा भईरहेको असुलीको बारेमा समेत प्रशासन बेखबर देखिएको छ।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले भने अटो चालकले बढी भाडा लिएको विषयमा जानारी नभएको बताए।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस