सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा नियमित हवाइ सेवा सञ्चालन हुने, भाडादर कति ?

२०७७ असोज २५, १२:५८ खबर संवाददाता

प्रताप ओली, बझाङ: बझाङमा मंगलबारबाट नियमित हवाइ सेवा सञ्चालन हुने भएको छ। हप्ताको बिहिबार र शुक्रबार उडान हुने गरी अबदेखि समिट एयर सेवा दिने भएको हो। 

धनगढी–बझाङको भाडादर भने ५ हजार ४८ रुपैंया तोकिएको छ। समिट एयर पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीका अनुसार २७,२८ र २९ गते निरन्तर उडान गरिने भएको छ भने त्यसपछि नागरिक उड्ययन प्राधिकरणको तालिकाअनुसार बिहिबार र शुक्रबार मात्रै उडान हुने छ। 

देवल विमानस्थल कालोपत्रे भएपछि असोज १७ गते  शनिबार परिक्षण उडान भएको थियो। धनगढी–बझाङ यात्रा गर्न २५ मिनेट व्यतित हुने गरेको छ। 

संविधानसभा सदस्य अफिलाल ओखेडाले जहाज सेवा सञ्चालन भएपछि बझाङवासीलाई अत्यावश्यक काम पर्दा धनगढी जान सहज हुने बताए।

उनले भने, ‘भाडादर नेपाल नागरिक उड्ययन प्राधिकरणले नै तोकेको रहेछ। ५ हजार आधा घण्टाको यात्रा अत्यावश्यक काम पर्दा ठिकै हो। हाम्रो लागि हवाइ सेवा सञ्चालन हुनु सुखद नै हो। लामो समयपछि बझाङबासीको धोको पुरा भएको छ।’

 

कमेन्ट लोड गर्नुस