सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका अधिकांश विद्यार्थी वैकल्पिक शिक्षण प्रणालीको पहुँच बाहिर

फाईल फोटो
फाईल फोटो
२०७७ असोज २५, १०:५७ खबर संवाददाता

धनगढीः सरकारले कोरोना भाईरसको संक्रमणका कारण अवरुद्ध सिकाइ प्रणालीलाई सुचारु गर्न र सामान्य अवस्था नभए सम्मका लागि विद्यार्थीलाई  वैकल्पिक विधिबाट अध्यापन गराउन सक्ेनगरी विद्यार्थी सिकाई शिक्षण सहजिकरण निर्देशिका २०७७ ल्याएको छ।

सो निर्देशिका अनुसार विद्यार्थीको पहिचान गर्दै वर्गीकरण गरी स्रोत साधनको पहुँचका आधारमा पाँच वटा माध्यमबाट शिक्षण गराउन सक्ने व्यवस्था गरेको छ। निर्देशिकामा सबै प्रविधीको पहुँच भन्दा बाहिर रहेका विद्यार्थीको समूह, रेडियो एफएमको पहुँचमा भएका विद्यार्थी, टेलिभिजनको पहुँचमा भएका विद्यार्थी, कम्प्युटर भएको तर अनलाईन कनेक्टभिटी नभएका विद्यार्थी, इनटरनेट तथा सूचना सञ्चारका पहुँचमा भएका विद्यार्थीको समूहको पहिचान गरी वर्गीकरण गर्नुपर्ने उल्लेख छ।

कैलालीमा भने स्थानीय तहहरुले विद्यार्थीको पहिचान र वर्गीकरण नगरी हचुवाको भरमा अध्यापन गराउँदै आएको गुनासो बढ्दो छ। तर कतिपय पालिकाले भने वैकल्पिक सिकाई प्रणालीको पहुँचमा नभएका विद्यार्थीलाई सिकाई केन्द्र वा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालयमै अध्यापन थालेको जनाएका छन्।

कैलारी गाउँपालिकाको शिक्षा शाखाका प्रमुख गणेश प्रसाद मिश्रले पालिका भित्र सहजिकरण निर्देशिकामा उल्लेखित वैकल्पिक विधि अनुसार शिक्षण सिकाइ सञ्चालन गर्न सकिने अवस्था नरहेको बताए। एफएम रेडियोको पहुँच प्रायजसो सबै बालबालिका रहेपनि शिक्षण सिकाइ प्रभावकारी नहुने हुँदा स्वास्थ्य सुरक्षाका मापदण्डको परिपालन गर्दै सिकाइ केन्द्र वा विद्यालयमै पढाउन थालेको उनले बताए।

कैलारी गाउँपालिकाले वैकल्पिक प्रणालीको पहुँचमा विद्यार्थी नभएकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्दै विद्यालय सञ्चालन गरेका बेला कतिपय स्थानीय तहले भने विद्यार्थीको पहिचान र वर्गीकरण समेत नगरेको गुनासो छ। पालिकाहरुले विद्यार्थीको वर्गीकरण नगरेपछि शिक्षण सिकाई समेत प्रभावित हुने देखिएको छ।

धनगढी उप–महानगरपालिकामा समेत कतिपय विद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै अध्यापन सुरु गरेका बेला विद्यार्थीको पूर्ण रुपमा वर्गीकरण समेत हुन नसकेको दावी गरिएको छ। तर उप–महानगरपालिकाको शिक्षा शाखाका शखा अधिकृत अकबर चन्द भने विद्यार्थीलाई बोलाएर विद्यालयमै कक्षा सञ्चालन गर्न गाह्रो भएकाले वैकल्पिक विधीकै प्रयोग गर्न निर्देशन दिईएको बताउँछन्।

‘संक्रमणको जोखिम कम भएको छैन्। प्रत्यक्ष विद्यार्थी बोलाएर कक्षा सञ्चालन गर्न सक्ने अवस्था छैन्।’ उनले भने, ‘संघिय सरकारले बनाएको विद्यार्थी सिकाइ सहजिकरण निर्देशिका अनुसार नै सिकाइ कार्यक्रम सञ्चालन भईरहेका छन्।’

यता शिक्षा विकास तथा समन्वय इकाइ कैलालीले भने स्थानीय तहलाई सरकारले जारी गरेको वैकल्पिक सिकाई सहजीकरण निर्देशिका अनुसार अध्ययन अध्यापन गर्न आग्रह गरिदै आएको जनाएको छ। तर जिल्लाका कुन स्थानीय तहले कसरी शिक्षण सिकाइ गरिरहेका छन् भन्ने कुराको अनुगमन हुन सकेको छैन्।

वैकल्पिक सिकाइ प्रणालीको पहुँचमा भएका विद्यार्थीको समूह र पहुँच बाहिर भएकाहरुको पहिचान गरी सिकाई क्रियाकलाप सञ्चालन गर्न नसके बालबालिकाहरुको शिक्षण सिकाई प्रभावित हुने शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख प्रतापसिह धामी बताउँछन्।

‘उनले तत्काल औपचारिक रुपमा सामान्य समयमा झै विद्यालय सञ्चालन सरकारले अनुमति दिएको छैन्।’ उनले भने, ‘अहिले विद्यार्थी सिकाइ सहजिकरण निर्देशिकामा उल्लेख गरिएका वैकल्पिक विधिको प्रयोग गरेर सिकाइ क्रियाकलाप सञ्चालन गर्ने नै हो। सबै स्थानीय तहमा विद्यालयहरुले वैकल्पिक विधी र सिकाइ केन्द्र मार्फत पठनपाठन नगरे विद्यार्थीको शिक्षण सिकाई प्रभावित हुने देखिन्छ।’

कोरोना संक्रमणका कारण शैक्षिक सत्रको आधा हुँदा समेत शिक्षण सिकाईमा भाग लिन नपाउँदा हजारौँ बालबालिकाको पढाई प्रभावित भईरहेको छ। स्थानीय तहहरुले समेत विद्यार्थीको पहिचान गर्दै सोही अनुसार अध्ययन अध्यापन गराउन नसकेमा उनीहरुको भविष्यमाथि खेलवाड हुने चिन्ता समेत व्यक्त भएका छन्।

कमेन्ट लोड गर्नुस