सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको बयालपाटा बजारमा सार्वजनिक शौचालय नहुँदा समस्या

फाेटाे:तारामान खड्का
फाेटाे:तारामान खड्का
२०७७ असोज २४, ०५:२६ खबर संवाददाता

अछामः अछामको बयालपाटा बजारमा सार्वजनिक शौचालय नभएकाले सर्वसाधारणलाई शौच गर्न समस्या हुने गरेको छ।

जिल्लाको पुरानो सदरमुकाम बयालपाटामा सार्वजनिक शौचालय सास्ती हुने गरेको बान्नीगढी–जयगड गाउँपालिका वडा नम्बर १ कुण्डालीका महेश खड्काले बताए। बजार क्षेत्रमा सार्वजनिक शौचालय नभएकाले जंगलमा शौच गर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन्। उनले भने, ‘बयालपाटा विस २०२२ सालसम्मको जिल्ला सदरमुकाम हो। तर हालसम्म सार्वजनिक शौचालय छैन्। बजार आएमा शौच गर्न समस्या हुने गरेको छ। शौच गर्न जंगल जानुपर्ने बाध्यता छ। तर हालसम्म नगरपालिकाले शौचालय निर्माणमा चाँसो दिएको छैन्।’

बजार क्षेत्रमा सार्वजनिक शौचालय नभएकाले शौच गर्न खोला तथा जंगल जानुपर्ने बाध्यता रहेको बयालपाटा बजार ब्यवस्थापन समितिका अध्यक्ष नृपबहादुर कुँवरले बताए। ‘बयालपाटाको माथिल्लो बजारमा शौचालय छ। तर तल्लो बजारमा सार्वजनिक शौचालय छैन्। वडा कार्यालय र नगरपालिकामा पठक–पटक लिखित माग पत्र पेश गर्दापनि कुनै सुनुवाइ भएन। मेयर सापले हुन्छ भन्दै दुई वर्ष बिताउनुभयो’ उनले भने।

बयालपाटा बजार ब्यवस्थापन समितिमा ६५ व्यापारी आवद्ध रहेको उनले बताए। बजार क्षेत्रमा सार्वजनिक शौचायल निर्माणका लागि उपेन्द्र स्वाँरले जमिन दिन इच्छा राख्दा समेत नगरपालिकाले बेवास्ता गरेको स्थानीय बताएका छन्। उता साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले शहरी विकासको आर्थिक सहयोगमा सार्वजनिक शौचालय निर्माणको तयारीमा रहेको बताएका छन्। जग्गा उपलब्ध भए नगरपालिका स्वंयम्ले सार्वजनिक शौचालय निर्माण गर्ने उनले बताए।

बयालपाटा बजारमा साविकको भागेश्वर, जनालीकोट, गाज्रा, चण्डीका र रिडीकोट गाउँविकास समितिका स्थानीय आउने गरेका छन्। उनीहरुले सार्वजनिक यातायात प्रयोग गर्ने स्थान समेत बयालपाटा हो।

कमेन्ट लोड गर्नुस