गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन नदिने चलखेल!
नारायण अवस्थी
धनगढीः गेटा मेडिकल कलेजलाई एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठन अन्तरगत राख्ने सरकारले तयारी गरेको छ। शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले गेटा सहितका पाँच कलेजलाई स्वास्थ्य शिक्षा प्रतिष्ठान अन्तरगत रहनेगरी विद्येयकको मस्यौदा मन्त्रीपरिषद्मा पेश गर्दै उक्त तयारी थालेको हो।
मन्त्रालयले गेटा मेडिकल कलेजलाई एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान अन्तरगत राख्ने गरी तयार पारेको विद्येयक मन्त्रीपरिषद्मा लगेपछि थप अन्यौलता सिर्जना भएको छ। गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउँदै स्वायतत्ता कायम गर्नुपर्ने प्रदेशबासीले माग उठाइरहेका बेला शिक्षा मन्त्रालयले आफ्नो मातहत रहने प्रतिष्ठानमा राख्नेगरी विद्येयक ल्याएपछि स्वयतत्ता खोसिने आशंका गरिएको छ।
गेटा मेडिकल कलेजलाई स्वास्थ्य मन्त्रालय अन्तरगत राख्दै स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्ने नेपाली काँग्रेसका नेता समेत रहेका पूर्व सांसद हिरादत्त भट्टले बताए। ‘गेटालाई विश्वविद्यालय अन्तरगत नभएर एउटै छाता भित्र राख्नेगरी सरकारले विद्येयक ल्याएको छ।’ भट्टले भने, ‘छाता ऐनले देशभरीका मेडिकल कलेजलाई हेर्ने निकायको परिकल्पना गरेको छ। गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर स्वतन्त्र हुनुदिनुपर्यो।’
गेटा मेडिकल कलेजको प्रारुप बारे चासोहरु व्यक्त भईरहेका बेला आएको विद्येयकले प्रदेशबासीलाई थप ससंकित बनाएको छ। गत माघमा निर्माणाधिन मेडिकल कलेजको निरिक्षण गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विश्वास दिएका थिए।
अहिले आएर शिक्षा मन्त्रालयले कलेजलाई आफ्नो मातहत ल्याउनेगरी विद्येयक ल्याएपछि स्वास्थ्य विज्ञान प्रतिष्ठान हुन नदिन चलखेल सुरु भएको आशंका गरिएको छ। हुन त उक्त विद्येयक एकिकृत हो। तैपनि शिक्षा मन्त्रालयले आफ्नो मातहत राख्ने आशंका व्यक्त हुन थालेका हुन्।
तर शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयका प्रवक्ता दिपक शर्मा भने अहिले मस्यौदा गरिएको एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान विद्येयक शिक्षा ऐन जस्तै मूल ऐन हुने बताउँछन्। उनले अहिले मस्यौदा गरिएको विद्येयक छलफलकै चरणमा रहेकाले यो वा त्यो निकायको मातहत रहने भन्ने कुरा त्यसपछि मात्र टुङ्गिने उनले शर्माले बताए।
गेटालाई एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान अन्तरगत राखे परनिर्भर हुनुपर्ने सरोकारवालाहरुको भनाई छ। तर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाईएमा कलेजको स्वायतत्ता कायम हुने र कुनै पनि निर्णयका लागि अरुको भर पर्न नपर्ने उनीहरुको धारणा छ।
कतिपयले त एकिकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान अन्तरगत नभएर मेडिकल कलेजलाई स्वतन्त्र निकायको रुपमा विकास गर्नुपर्ने माग गर्दै आएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको अवस्था बलियो भएको भए सोही विश्वविद्यालयबाट सम्वन्धन लिएर मेडिकल कलेजकै प्रारुपमा सञ्चालन हुँदा पनि ठुलै समस्या नहुने समेत बताउँदै आएका छन्।
निर्माणाधिन मेडिकल कलेजका भौतिक संरचना निर्माणको काम करिब ७० प्रतिशत पूरा हुँदा समेत सञ्चालनको प्रारुपको टुङ्गो नलागेको हो। आउँदो फागुन भित्र पूर्वाधार निर्माणको काम सकेर अर्को वर्षदेखि कलेज र अस्पताल सञ्चालन गर्ने तयारी गरिएपनि सरकारी अन्यौलता समस्या हुने देखिएको छ।
गेटा मेडिकल कलेजका कार्यकारी निर्देशक भीमबहादुर साउँदले आउँदो फागुन सम्म भौतिक पूर्वाधार निर्माणको काम पूरा हुने बताउँदै त्यो बेला सम्म मोडालिटी समेत तयार हुने विश्वास व्यक्त गरे।
उनले अगामी वर्षदेखि कलेज र अस्पताल सञ्चालन गर्ने तयारी भने भईरहेको जानकारी दिए। गेटा मेडिकल कलेज निर्माणको प्रक्रिया २०६५ सालदेखि थालिएको थियो।
सरकारले तत्कालीन समयमा गेटालाई दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडी बढाउन विद्येयकको मस्यौदा बनाएको थियो।
तर संविधानसभा विघटन भएपछि काम अगाडी बढ्न सकेको थिएन भने २०७३ सालदेखि मात्रै मेडिकल कलेजको पूर्वाधार निर्माण थालिएको थियो।