दशैँतिहारमा महेन्द्रनगरदेखि चिसापानी सम्म पनि सार्वजनिक सवारीमा ‘टाईम कार्ड’
धनगढीः दशैँतिहारका बेला हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न प्रहरीले तराई क्षेत्रमा समेत सार्वजनिक सवारीमा ‘टाईम कार्ड’ प्रणाली अनिवार्य गरेको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले तराईका रुटमा समेत ‘टाईम कार्ड’ प्रणाली अनिवार्य गरिएको जनाएको छ।
कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरिक्षक वामदेव गौतमले पूर्वपश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको महेन्द्रनगरदेखि कैलालीको चिसापानी सम्मको सडक खण्डमा समेत ‘टाईम कार्ड’ अनिवार्य गरिएको दिनेश खबरलाई जानकारी दिए।
उनका अनुसार महेन्द्रनगरदेखि चिसापानी खण्डका लागि दुई घण्टा ५० मिनेटको समय तोकिएको छ। ‘महेन्द्रनगरदेखि अत्तरिया सम्म एक घण्टाको समय तोकिएका छौँ।’ ट्राफिक प्रहरी नायब उपरिक्षक गौतमले भने, ‘अत्तरियामा चेकजाँच गछौँ। अत्तरियादेखि सुखड सम्मका लागि एक घण्टा पाँच मिनेट र सुखडदेखि चिसापानीका लागि ४५ मिनेट तोकेका छौँ।’
अत्तरियादेखि डडेल्धुरा सम्मको रुटमा भने यसअघिदेखि नै ‘टाईम कार्ड’ प्रणाली लागु गरिएको छ। अत्तरियादेखि बुडर सम्मका लागि दुई घण्टा ३० मिनेट र बुडरदेखि डडेल्धुरा दुई घण्टा ३० मिनेट गरी पाँच घण्टाको समय तोकिएको ट्राफिक प्रहरी उपरिक्षक गौतमले जानकारी दिए।
दशैँतिहारका बेला हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर ‘टाईम कार्ड’ प्रणाालीलाई थप व्यवस्थित बनाएको ट्राफिक प्रहरीले जनाएको छ।