महिला तथा बालिकामाथि हुने घटनामा गम्भिर बन्न नगर बाल सञ्जाल धनगढीकाे अनुरोध
धनगढी: नगर बाल सञ्जाल धनगढीले महिला तथा बालिकामाथि हुने घटनामा गम्भिर हुन अनुरोध गरेको छ। आइतबार सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश बहादुर शाह र कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरालाई ज्ञापनपत्र बुझाउदै सञ्जालले त्यस्ता प्रकारका घटना घटाउनेलाई कारवाही गर्न माग गरेको हो।
महिला तथा बालबालिका बलात्कार, हिंसात्मक घटनाले समाजमा त्रासको वातावरण पैदा गरेको भन्दै बाल सञ्जालले त्यस्ता दानवीय प्रवृत्तिलाई न्युनीकरण गर्न प्रशासनले कुनै ठोस कदम नचालेको आरोप ज्ञापनपत्रमा उल्लेख गरेको छ।
कञ्चनपुरकी निर्मला पन्त र बझाङकी सम्झना कामीको उदाहरण दिदै नगर बाल सञ्जाल धनगढीका अध्यक्ष विजयराज जोशी र कोषाध्यक्ष धनसरा भण्डारीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनीएको छ, ‘यस्ता हिंसाहरु दिन प्रतिदिन क्रमिक रूपमा वृद्धि हुँदै छन्। यसको न्यूनीकरण वा अन्त्य गर्न बर्तमान सरकारले कुनै ठोस कदम चालेको देखिदैन। तसर्थ यी यस्ता घटनाहरुलाई मध्यनजर गर्दै अब थप घटना घट्न नदिन बलियो कानुन निर्माण गरी यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गरी पिडित बालिकालाई न्यायको नगर बाल सञ्जाल धनगढी जोडदार माग गर्दछ।’