लकडाउनले सिकाएको पाठः निजी विद्यालयका शिक्षकले सुरु गरे चप्पल उद्योग
धनगढी: रामशरण रोका ३७ वर्षका भए। विगत १० वर्षदेखि शिक्षण पेसामा कार्यरत उनको जिवन सहज नै चलिरहेको थियो। घरपरिवार पाल्न तथा दैनिकी चलाउन उनलाई त्यति समस्या भएको थिएन।
तर डडेल्धुराको एक निजी विद्यालयमा अध्यापन गराइरहेका उनलाई कोरोना भाइरसको महामारीले पर्नु पिर पर्यो। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन त गर्यो तर उनी जस्तै निजी संस्थामा काम गरेर खानेको गुजारा चलाउन कठिन बनाइदियो। सरकारले निजी विद्यालयलाई सौतेलाे व्यवहार गरेको बताउने उनी भन्छन् ‘लकडाउनमा हामी जस्ता निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी बेरोजगार जस्तै भयौ। खानलाउन नै समस्या भएका बेला मैले भने हार मानेन। बरु म त्यसको विकल्प खोज्न तिर लागे।’
साथीहरुको सुझाव र इन्टरनेटको माध्यमबाट डडेल्धुरामा चप्पल उद्योग खोल्न प्रेरित भएका उनले हालैमा उद्योग खोलिसकेका छन्। उनले डडेल्धुरा सदरमुकामको विद्युत रोडमा सफल चप्पल उद्योग नामबाट उत्पादन सुरु गरेका छन्। ८ लाख लगानी गरेर उनले विराटनगरबाट मेसिन तथा चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थ ल्याएर उत्पादन सुरु गरेका हुन।
‘घरमै बसेर के गर्नु भनेर धेरैसँग सुझाव लिए। फेरि सबैले गरेजस्तो व्यापार गरेर कुनै फाइदा थिएन। त्यसैले सुदूरपश्चिमका पहाडी जिल्लामा कतै नभएको चप्पल उद्योग खोल्छु भन्ने अठोट गरेर उद्योग सुरु गरेको हुँ’ रोकाले भने। बजारको अध्ययन गरेपश्तात नै उद्योग सुरु गरेको बताउने उनको उदेश्य ७ पहाडी जिल्लामा आफुले उत्पादन गरेका चप्पल आपूर्ति गर्ने रहेको छ।
‘यताका व्यापारी पनि खुसी छन्। महोङगो भाडा तिरेर चप्पल आयात गर्नुभन्दा मेरै उत्पादत बेच्छौ भनेका छन्’ उनी भन्छन्, ‘दिनमा एक हजारदेखि १५ सय जोर चप्पल उत्पादन गर्ने लक्ष्य रहेको छ। माग अनुसार बढाउन पनि सकिन्छ।’
दिनमा ५ सय जोर चप्पल बेच्न सके दैनिक ५ हजारसम्म आम्दानी गर्न सकिने उनले बताएका छन्। ‘सबै ठाउँबाट माग आए अर्को मेसिन पनि ल्याउने बिचार गरेको छु’ उनले भने, ‘सुलभ मुल्य हुनेहुँदा तराईबाट समेत माग आउँछ की भन्ने लागेको छ।’
परिवारको साथ, स्थानीय तहको प्रेरणा
अहिलेलाई घर परिवारका सदस्यको सहयोगमा उद्याग संचालन गरिरहेका उनले पछि कम्तिमा ५ जनालाई सम्म रोजगारी प्रदान गर्ने बताएका छन्। उनले भने ‘अहिलेलाई घरकै सदस्यबाट सहयोग पाइरहेको छु, काम बढेपछि ५ जना खोजेर रोजगारी प्रदान गर्ने बिचारमा छु।’
साथै उनले स्थानीय तहबाट समेत उद्योग संचालनका लागि प्रेरणा पाइरहेको बताएका छन्। चप्पल उद्योगको अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वर प्रसाद ओझाले अनुगमन गरेको रामशरण रोकाले बताए। यस्तै स्थानीय उत्पादनलाई प्राथमिकता दिइने नगरप्रमुख ओझाले बताएका छन्। उनले उत्पादनको बजारीकरणमा सहयाग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।