सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना महामारीले शिक्षा क्षेत्रमा परेको प्रभाव

२०७७ असोज १७, ०६:४१ चम्पा भट्ट

-चम्पा भट्ट
कोरोना भाईरसको सक्रमणको प्रभाव सगैं विभिन्न तहका निर्धारित परिक्षाहरु  स्थगित भए। विभिन्न अत्यावश्यक सेवा बाहेक सबै कार्यहरु विस २०७६ सालको चैत्र ११ गते देखि लागु भएको  लकडाउन ले गर्दा पुर्ण रुपमा बन्द भए।

देश विकासको जगको रुपमा रहेको व्यवस्थित शिक्षाको ज्योती लकडाउन सगैं निभ्न लाग्दा सरोकारवालाहरु देशको भविष्य प्रति चिन्तीत बन्न पुगे। एकातिर कोरोना महामारीले विश्व अर्थतन्त्र धराशयी बन्ने चिन्ता बन्यो भने अर्को तर्फ यो महामारी यसरी नै लम्बिदै जाने हो भने शैक्षिक क्षेत्र पनि धराशयी नबन्ला भन्न सकिदैन।

तर समय समयमा आईपर्ने यस्ता महामारीले हामीलाई धेरै पाठ सिकाएको छ। विनाशकारी भुकम्प, बाढी, पहिराले केहि पाठ सिकाएर गएपनि त्यो भन्दा अझै ठुलो पाठ यस महामारी (कोभिड–१९)ले सिकाएको छ। बेला बेलामा यसरी आइपर्ने महामारीले हामीलाई यसको विकल्पमा कुनै न कुनै उपाय सोच्नुपर्नेतर्फ ध्यानाकर्षण गराँउछ।

विद्यालय तहको पठनपाठन विगत ५ महिनादेखि अवरुद्ध भएकोले गर्दा अहिले विद्यार्थीहरुमा दुई किसिमको मानसिक तनाव बढेको छ। एकातिर विद्यार्थीहरुमा पढाइलाई कसरी निन्तरता दिने भन्ने तनाव बढेको छ भने अर्कोतर्फ यस महामारीबाट कसरी जोगिने भन्ने चिन्ता बढेको छ। यसैगरी अभिभावकहरुमा पनि आफ्ना नानीबाबुहरुको पढाई प्रतिको चिन्ता बढेको छ। यतिखेर कोरोना कहरले गर्दा ७० लाख भन्दा बढी विद्यार्थी घरमा नै बस्न बाध्य भएका छन। तर समग्र देशको शैक्षिक क्षेत्रका देखा परेका समस्या समाधान तथा न्युनिकरणका लागि सरकारले अहिलेसम्म कुनै विकल्प खुला गर्न सकेको छैन। यसबाट सरकार पर्ख र हेरको अवस्थामा पुगेको छ। 

यसरी कोरोना महामारीले गर्दा शिक्षाक्षेत्रमा विभिन्न नकारात्मक प्रभाव पनुका साथसाथै केहि सकारात्मक प्रभाव पनि परेको पाइन्छ। विद्यार्थीलाई लामो समय सम्म घर परिवारमा बस्दा संस्कारजन्य व्यवहार र कुशल सिप सिक्ने अवसर प्राप्त भएको छ। यसरी लामो समयसम्म घरपरिवारमा बस्दा एकातिर परम्परागत सिप सिक्नुका साथै कृषिजन्य कामहरुको बारेमा सिक्ने अवसर पाएका छन् भने अर्कोतर्फ सिकाइ विद्यालयको चौघरोबाट मात्र हुन्छ भन्ने मान्यताको सट्टा सिकाइ जिवनपर्यन्त चलिरहने प्रकृया हो र यो जहाँ,जहिले र जसरी पनि हुन्छ भन्ने मान्यताको विकास पनि भएको पाइन्छ। 

यसैगरी विद्यालय हाता भन्दा बाहिर रहेर बालबालिकाहरुले कसैको दबाब र प्रभावमा नभई स्वस्फुर्त रुपमा आफ्नो रुचि,क्षमता र आवश्यकता अनुसारका विभिन्न ज्ञान र सिपहरु हासिल गर्ने अवसर प्राप्त गरेका छन्। यसरी एकातर्फ विद्यार्थीहरुलाई विभिन्न नयाँ अनुभव समेट्न सहयोग पुगेको छ भने अर्कोतर्फ नयाँ शैक्षिक सत्र शुरु हुन नसक्दा झनै अन्यौलता बढेको छ र लाखौ विद्यालय जाने उमेरका बालबालिकाहरु विद्यालय भन्दा बाहिर रहेका छन्। त्यसकारण अभिभावक तथा विद्यार्थीहरुमा नैराश्यता उत्पन्न हुनुका साथै बालबालिकाको पढाई प्रतिको रुचि घट्दै गईरहेको पाउन सकिन्छ। 

अब यस्ता समस्यमहरु न्युनिकरणका लागि कक्षाकोठाको विकल्पका रुपमा अनलाइन कक्षाहरुलाई निरन्तरता दिनुपर्ने देखिन्छ। तर न्युनतम व्यवस्थापन समेत नगरी अनलाईन कक्षा सञ्चालन गर्दा गरिब विपन्न वर्गका बालबालिकाहरु यस वैकल्पिक शिक्षाको पहुँचमा पुग्न नसक्ने अवस्था पनि त्यत्तिकै मात्रामा रहेको पाइन्छ। त्यसका लागि स्थानिय निकायहरुले विद्यार्थीहरुको तथ्याङ्क सकंलन गरी उनिहरु सुचना प्रविधिको पहुँचका छन् छैनन् पत्ता लगाई अनलाईन कक्षाका लागि आवश्यक पुर्वाधारको व्यवस्था गर्नुपर्ने देखिन्छ। कक्षाकोठाकै विकल्पको रुपमा अनलाइन कक्षा नभएपनि अहिलेको विषम परिस्थितीमा अनलाइन शिक्षालाई नै सर्वोत्तम विकल्पको रुपमा लिन सकिन्छ। 

यस महामारीको कारण घरमै बस्न बाध्य भएका बालबालिकाहरुलाई व्यस्त बनाइ राख्नका लागि अनलाइन शिक्षाको महत्वपूर्ण भुमिका रहने देखिन्छ। एकातिर अनलाइन कक्षा वर्तमान समयको माग हो भने अर्कातिर कयौ शिक्षक र विद्यार्थीका लागि बाध्यता पनि हो। लामो समय सम्मको लकडाउन र निषेधआज्ञाले गर्दा कयौं अभिभावकहरु बेरोजगार बन्न पुगेका छन्। छाक टार्न मुस्किल परिरहेको अवस्थामा मोबाईल डाटा लिएर अनलाईन कक्षामा सहभागी बन्न सक्ने अवस्था छैन। धेरै जस्तो ठाउँहरुमा इन्टरनेटको क्षमता र मोबाईल नेटवर्कको क्षमता कमजोर छ। 

देशमा सबै ठाँउहरुमा विद्युतको सुविधा पनि छैन र कतिपय ठांउहरुमा त फोन गर्न समेत नेटवर्क नआउने अवस्था छ। त्यसैले थ्री जी/फोर जी नेटवर्क मार्फत् अनलाईन कक्षामा सहभागी बन्नु असम्भव जस्तै छ। त्यसकारण अनलाइन कक्षाका लागि चाहिने अत्यावश्यक पूर्वाधार निर्माण नगरी शिक्षामा प्रविधिक्रान्ती सम्भव छैन। यसका लागि हरेक घरमा विद्युत जडान , एक व्यक्ति एक स्मार्ट फोन र इन्टरनेटको पहुँच देशैभरी सहज हुदाँ मात्रै यसको पूर्ण रुपमा प्रयोग गर्न सकिन्छ। 

यसैगरी कोरोना विरुद्ध सचेतनामुलक का साथै शैक्षिक गतिविधिहरुलाई निरन्तरता दिनका लागि अनलाईन कक्षा सञ्चालन आजको आवश्यकता मात्र नभई आगामी दिनमा शिक्षक र विद्यार्थी दुवैका लागि विभिन्न समस्याहरुको समाधान तथा न्यूनिकरण गर्ने भरपर्दो माध्यम बन्न सक्ने हुदाँ समयको माग सगैँ पाठ्यक्रम मा परिमार्जन, पाठ्यसामग्रीको विकासका साथै शिक्षकमा दक्षता अभिवृद्धि गर्न सकेमा अनलाईन शिक्षा हल्लामा मात्र सिमित हुने छैन।

चम्पा भट्ट
कमेन्ट लोड गर्नुस