सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमा मलाई ‘म’ बन्नुछ

२०७७ असोज १३, ०३:१५

-पूजा शर्मा ‘प्रकृति प्रेमी’

हो ! आमा मलाई ‘म’ बन्नुछ। अब मलाई नरोक्नुस, मलाई समाजको नीति नियम नसुनाउनुस्। मलाई त निलो खुला आकाशमा निस्फिक्री उडन मन छ। अहँ बाधिन सक्दिन ती सिद्धान्तमा ती नियमले मलाई अनियंत्रित बनाउछ। मेरो जिन्दगीको परिभाषा धेरै फराकिलो छ। समाजका बनावटी संस्कार नामक कुरितीको बाध्यता नबनाउनुस्।  झुक्न नसिकाउनुस ताकी शत्रुले गर्धन हान्ने मौका छोप्नेछन्।  र,  नघोकाउनुस गान्धी , गौतम बुद्ध , अरनिको कुरा ! ती त इतिहास मात्रै हुन। गान्धी र बुद्ध बन्ने दर्शन पहिल्यै खरानी भैसकेका हुन।  नसुनाउनुस ती एकादेशका भुत प्रेतका कथा म  मा डर त्रास  पैदा हुनेछ। 

हो ! म आफै बाच्ने एउटा जिन्दगी लिएर आएकी छु। मेसिनको इसारामा चलेको मान्छेको जिन्दगी ‘जिन्दगी’  लागेन। जिउदिन अब विधि र विधानको लागि।  समाजका बनावटी ढोङलाइ सस्कारको उपनाम नदिनुस आमा। 
मेरो बाल मस्तिष्कलाई अनुकरण गर्न दिनुस्। मेरो भरिलो जवानिलाइ विधि र  बिधानको पुरानो मधुस भित्र बन्दी गर्न नखोज्नुस आमा, किन कि म त बाच्न चाहान्छु। 

यहाँ त यस्तै हो,  बाचुन्जेल त जाड भित्रको किरा भएर बाच्नुपर्छ। जब म मर्छु वैरभाव सारा भुलेर शत्रुले पनि बहकिने ठाउँ पाउनेछन्। र फ्याकिदिनेछन समावेदनका सुवासिला शब्दगुच्छाहरु। आमा मैले निधो  गरिसके म स्वतन्त्र उडन चाहान्छु त्यो पिजडा खोलिदिनुस। 

नेपालका साहसी चेली अनुराधा कोइराला चुलो चौकामै सिमित भएको भए हाम्रा दिदिबहिनी को हालत के हुन्थ्यो होला? ओमसरी घर्ती घर नछाडेकी भए संसदमा प्रतिनिधित्व गर्न सक्ने थिइनन्। तपाईंले हामी सन्तान बन्नका लागि गरेको त्याग र समर्पणको  पनि एउटा ठुलै गर्विलो इतिहास छ। कहिल्यै सुखका सपना देख्नु भएन। यो भोगाइ र हेराइ बाट मलाई म बन्नुछ। 

गर्नेछन दुनियाँले अनेक तरहका टिका टिप्पणी धेरै थरिले सुझाव दिनेछन। सासुआमा  ‘लामा लुगा लगाउ’, छिमेकी दिदि ‘सिन्दुरको धर्को पार’, लोग्नेले भन्ने छ घरभित्रै बस्नु। र अक्सर मान्छेले सोध्नेछन् बच्चाबच्ची के के भयो ?

हो आमा मलाई थाहा छ, म मान्छे बनेको हेर्न सक्दैनन्। मलाई झुम्राको पुतली बन्न मन छैन। आमा यहाँ बिश्वास कसैको नगर्नु  ती पहाड , पत्थर जस्तै मान्छे हुन। नत्र त किन रजस्वला को ‘र’ पनि थाहा नभएका मेरा कलिला बैनिहरुको बलिन्द्र आशुको चीत्कार सुन्न किन सक्दैनन्।  किन दुख्दैन तिनीहरु लाई  हँ?  सहनशीलता , सुन्दरता अभिशाप जस्तो लाग्छ मलाई। के चिज छ  आमा त्यसो म संग, जसका लागि दुनियाँ नङ्ग्रा फिजाएर  बसेको छ। उनिहरु मलाइ नङ्ग्याउन,  कोपर्न, चिथर्न चाहन्छन ! कसरि चिनौ ती मान्छेको मुकुन्डो लागायका यौन पिपाषुहरुलाई?  त्यसैले मलाई म बन्नुछ आमा ! 

यो समाजले छोरिलाइ कोमल र निर्बलको सुचिमा राखेर तौलियो।  त्यसदिनदेखी तपाईंले माया गरेर भन्ने शब्द ‘छोरी’ पनि बोझिलो लाग्न थाल्यो। अनेक रङ्गिला  पहिरन नपहिराउनुस मलाई,  अत्यन्तै  सुन्दरी बनेर कसैलाई आकर्षण गरुँ लाग्दैन। 

हो आमा अब उठनुपर्छ , परिवर्तन सम्भव छ। त्यसैले म नेतृत्व गर्नेछु।  अब म लगायत हरेक देशप्रेमिले समाज एवं राष्ट्रका लागि आफ्नो सानो दायरा नाघेर देशको समृद्धिको योगदान स्वरुप एउटा इट्टा थप्नुपर्छ। नातावाद कृपावाद मेरा शब्दकोषमा हुनेछैन।

आमा नेपाल र नेपालीको जीवन स्तर उकास्न भन्दा आफ्नो स्वार्थ पूर्तिमा तल्लिन हुनु हाम्रो दुर्भाग्यपुर्ण अवस्था हो। व्यक्तिगत स्वार्थ बाट माथी उठेर इमान का साथ जनताको सेवक भएर यो देश हाम्रै जीवन कालमा काचुली फेर्नेछ। 

तपाईंको त्याग, समर्पण, इमानदारी एवं कर्तव्यनिष्ठ व्यवहारबाट पाठ सिक्दै आफ्नो जीवनकालमा समृद्धि भ्रष्टाचार रहित एवं कल्याणकारी नेपाल बनाउने अभियानमा संलग्न हुन चाहान्छु।  त्यसैले नरोक्नुस आमा, मलाई म बन्नुछ। आमा आशीर्वाद दिनुस। 
 

कमेन्ट लोड गर्नुस