सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका सरकारी कार्यालयमा लापरवाही, बढ्दो भीडभाडले कोरोनाको जोखिम

२०७७ असोज १२, ०८:२८ रोशन भट्ट

धनगढीः आईतबार विहान ११ बजे कैलालीको मालपोत कार्यालय पुग्दा सेवाग्राहीको भिडभाड थियो। सडकदेखि कार्यालयको ढोका सम्म लामबद्ध भएका सेवाग्राहीको भीडलाई हेर्दा लाग्थ्यो की कोरोना भाईरसको जोखिम टरिसक्यो। कोरोनालाई बिर्सिदै सेवाग्राही ठेलाठेल गरेरै भएपनि पालो कुर्दै लाईनमा थिए।

त्यस्तो भीडभाडमा सामाजिक, भौतिक दुरी कायम हुने कुरा त कता हो कता, उनीहरु मध्ये धेरैले त न मास्क प्रयोग गरेका थिए न पन्जा। कुपन लिनका लागि तछाडमछाड गरिरहेका सेवाग्राहीहरु भौतिक दुरी कायम गरी लाईनमा लाग्छन भन्ने कल्पना पनि गर्न सकिदैन्।

सेवाग्राहीलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्ने÷गराउने जिम्मा सम्बन्धीत कार्यालयको भएपनि उदासिनता देखिएको सेवाग्रही शिव थापाले बताए। ‘कार्यालयले भिडभाड नियन्त्रण गर्न सेवाको वैैकल्पीक उपाय खोज्नु पर्छ,’ उनले भने, ‘कुपन उपलब्ध गराउन पनि कार्यालय विभेद गरेको छ, अन्य व्यवस्थापन समेत नहुँदा सेवाग्रही मर्कामा छन्।’

नेपाल सरकारले सेवाग्राहीको चाप हुने सरकारी कार्यालयलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पालन गरी कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्ने व्यवस्था मिलाएर सेवा प्रवाह गर्न दिर्नेशन दिएको छ। तर कैलालीका सरकारी कार्यालय भने सरकारी मापदण्डको खिल्ली उडाउँदै सेवाग्राहीलाई जोखिममा राखेर कार्य सम्पादन गरिरहेका छन्।

व्यक्तिगत स्वास्थ्य सुरक्षाका लागि मास्कको प्रयोग गर्ने, पन्जा, सेनिटाईजर प्रयोग गर्ने, हात धुने व्यवस्था मिलाउने, ज्वरो नाप्ने र भौतिक दुरी अनिवार्य रुपमा कायम गर्ने भनिएको छ। सम्पुर्ण मापदण्ड व्यवस्थापनको जिम्मा कार्यालय प्रमुखलाई दिईएको छ। अव्यवस्थीत रुपमा भईरहेको सेवा प्रवाहले कोरोनाको संक्रमण फैलिने खतरा अर्का सेवाग्रीही विसाल बोहराले बताए।

‘सरकारले चाही बारम्बार मापदण्ड पूरा गर्न भन्ने तर सरकारी कार्यालयमै लापरवाही भईरहेको छ,’ उनले भने, ‘सयौँको संख्यामा हुने सेवाग्राहीबाट कोरोनाको संक्रमण समेत फैलिने जोखिम उच्च छ।’ मालपोत संगै सेवाग्राहीको बढी भिडभाड हुने अन्य कार्यालयको अवस्था पनि उस्तै छ।

नापी, यातायात लगायतका अन्य सरकारी कार्यालयमा पनि स्वास्थ्य सुरक्षाका मापदण्डको वेवास्ता गरिएको पाईएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गराउनुपर्ने सरकारले सरकारी कार्यालयमा भएको लापरवाहीमा वेवास्ता गरेको गुनासो सेवाग्राहीको छ।

सरकारी कार्यालयका लापरवाहीका कारण कोरोना समुदाय स्तरमा संक्रमण फैलिने जोखिम झनै बढेको यातायात कार्यालय धनगढीमा भेटिएका डबल रावलले बताए। ‘कोरोना भाईरसको संक्रमणबाट बच्न सामाजिक भौतिक दुरी महत्वपुर्ण भएपनि लापरवाही भईरहेको छ’ उनले भने।

कोरोनाको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले नै स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्न दिर्नेशन दिएको थियो। स्थानीय प्रशासनले पनि जिल्ला स्थित सबै कार्यालयलाई स्वास्थ्य सुरक्षाका मापदण्डको अनिवार्य पालन गर्न निर्देशन दिएको छ।

सेवाग्राहीको बढी भिडभाड हुने कार्यालयमा व्यवस्थापनको जिम्मेवारी प्रमुखलाई दिईएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए। ‘स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर मात्रै सेवा दिन निर्देशन भएको छ,’ उनले भने।

जिल्ला प्रशासन कार्यालय कैलालीले स्थानीय तहलाई बार अनुसार सेवा प्रदान गर्ने व्यवस्था मिलाएको छ। अन्य सरकारी कार्यालयले समेत उक्त प्रणालीलाई लागु गर्न सक्ने भएपनि वेवास्ता गर्दा जोखिम बढेको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस