सुदूर नेपाललाई विश्वसँग जोड्दै

चियापानमै सीमित पर्यटन दिवस

। फोटो स्रोत ।
२०७७ असोज ११, ०८:१२ रासस

वर्षेनी १० देखि १५ हजार बाह्य पर्यटक भित्रिने पूर्वी प्रवेशद्वार काँकडभिट्टा कोभिड–१९ को महामारीका कारण विगत छ महिनादेखि सुनसान छ। नाकाको भौतिक अवस्था भने कोभिड शुरु भएयता कायापलट भइसकेको छ।

एसियन हाइवेअन्तर्गत सीमानादेखि एक किलोमिटर नेपाली भूमिभित्र रमितालाग्दो छ लेनको झिलीमिली सडक बनिसकेको छ। मेची नदीमाथि छ लेनकै नवनिर्मित पुल उद्घाटनको पर्खाइमा छ। हरेक वर्ष आजकै दिन विश्व पर्यटन दिवसको अवसरमा यहाँ विदेशबाट आएका पाहुनाहरुलाई बाजागाजा र झाँकीसहित बजार परिक्रमा गरेर सम्मान गरिन्थ्यो। यसपटक त्यस्तो कुनै उल्लास छैन।

काँकडभिट्टास्थित प्रादेशिक पर्यटन कार्यालयलले आज ४१ औं पर्यटन दिवसको उपलक्ष्यमा सामान्य ब्यानर उद्घाटन र चियापान कार्यक्रम मात्र गरेको छ। पर्यटक आगमन ठप्प रहेको अवस्था र भीडभाड गर्न नहुने भएकाले ठूलो कार्यक्रम आयोजना नगरिएको पर्यटक कार्यालय काँकडभिट्टाका प्रमुख वासुदेव ढकालले बताए।

सरकारले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि घुमफिरलाई प्रोत्साहित गर्ने नयाँ योजनाहरु ल्याउन लागेको उहाँले जानकारी दिए।
नेपाल पर्यटन बोर्डको काँकडभिट्टा सम्पर्क कार्यालयकी प्रमुख सुस्मिता दाहालले कोभिडको महामारी नआएको भए यो वर्ष विदेशी पर्यटकको आगमन तेब्बरले वृद्धि हुने अपेक्षा गरिएको बताए। पर्यटन अभियन्ता अर्जुन कार्कीले अब ग्रामीण क्षेत्रका पर्यटकीय स्थल र होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढाउने कार्यक्रम ल्याउन सरकारसँग माग गरे।
 

कमेन्ट लोड गर्नुस