सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा सदरमुकामकाे सडक सिमा ३० मिटर कायम गराउन पहल गरिने

२०७७ असोज ६, ०३:११ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुरा सदरमुकाम बागबजारदेखि किर्तिपुरसम्मको मुख्य राजमार्गको सडक सिमा ३० मिटर कायम गराउन  अमरगढी नगरपालिकाले प्रक्रिया सुरु गरेको छ।

सोमबार अमरगढी नगरपालिकाले सर्वपक्षीय बैठक आयोजना गरेर  भिमदत्त राजमार्ग अन्तर्गत डडेल्धुरा सदरमुकाम बागबजारदेखि किर्तिपुरसम्मको सडक क्षेत्रमा सडक सिमा सडकको केन्द्रदेखि दायाँ बायाँ १५ मिटर कायम गर्न पहल गर्ने निर्णय गरेको हो।

सडक सिमामा घर जग्गा भएका स्थानीयलाई उचित मुआब्जा दिलाउन र सडक विस्तार कार्यमा सहजीकरण गर्न नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाको संयोजकत्वमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधीहरु, जिल्ला समन्वय समितिका प्रतिनिधी, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ र सडक मुआब्जा पाउन स्थानीयस्तरमा गठित संघर्ष समितिका प्रतिनिधीहरु सदस्यरहनेगरि सडक विस्तार तथा सहजीकरण समिति गठन गरिएको अमरगढी नगरपालिकाले जनाएको छ।

भिमदत्त राजमार्गमा पर्ने सडक क्षेत्रको मध्यपहाडी लोकमार्गमा गाभिएका स्थानमा सडक सिमा ५० किलोमिटर कायम गरिएको थियो। सडकको बीचबाट दायाँ बायाँ २५ किलोमिटर सडक क्षेत्र कायम गरिएपछि डडेल्धुरा सदरमुकामका अधिकांस घरहरु सडक क्षेत्रमा पर्ने भएकाले बजारनै विस्थापित हुनसक्ने भएकाले ३० मिटर कायम गराउन पहल गरिने अमरगढी नगरपालिकाका नगरप्रमुख ओझाले बताए। 

सर्वपक्षीय बैठकले सदरमुकाम क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरिएका घरटहरा र खोका छाप्राहरु १५ दिनको समय दिएर हटाउने निर्णय गरेको छ। यसअघि अमरगढी नगरपालिकाले सातदिने सूचना प्रकाशितगर्दै सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाउने प्रयास गरेको थियो।

सर्वदलीय र सर्वपक्षीय बैठकबाट निर्णय गरिएकाले सडक विस्तार र मुआव्जा माग गर्न सहज भएको नगरप्र्रमुख ओझाले बताए। उनले अमरगढी नगरपालिकालाई स्मार्ट सिटीका रुपमा विकास गर्न सरकारले निर्णय गरे बमोजिम सुन्दर र हराभरा नगर निर्माणका लागि सर्वपक्षीय बैठक उपलब्धीमुलक रहेको जिकिर गरे।

सडक डिभिजन कार्यालय कुलपाते डोटीले  डडेल्धुरा सदरमुकाम बागबजारदेखि किर्तिपुरसम्म सडक फराकिलो बनाउन टेण्डर आह्वान गरेकोमा सडक संरचना कम्तिमा पनि २० मिटर फराकिलो बनाउन सो कार्यालयलाई आग्रह गर्ने निर्णय समेत गरिएको छ। सर्वपक्षीय बैठकमा नेपाली काँग्रेस डडेल्धुराका सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल, जिल्ला समन्वय समितिका प्रमुख गणेशराज भट्ट, जिल्लास्थित राजनीतीक दलका प्रतिनिधीहरु, पुर्व जिविस सभापतिहरु, नागरिक समाजका अगुवाहरु सहभागी थिए। 

कमेन्ट लोड गर्नुस