सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा स्वास्थ्यकर्मी र उपकरणको अभावमा प्रसुती भवन प्रयोगविहिन

२०७७ असोज ३, ०४:०२ खबर संवाददाता

बैतडी: बैतडीमा आर्थिक वर्ष २०७५/७६ मा १८ ओटा प्रसुती सेवा केन्द्र, शहरी स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाई निर्माण भएका छन्। तर स्वास्थ्यकर्मी र औषधि उपकरणको अभावमा ती भवन प्रयोगविहिन बनेका छन्। 

जिल्लाको सुर्नया गाउँपालिका–३ बिजुलमा प्रसुती सेवा केन्द्र अहिले प्रयोगविहिन छ। कर्मचारी र आवश्यक उपकरणको अभावमा भवन प्रयोगमा ल्याउन नसकेको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताएका छन्।

यस्तै पाटन नगरपालिका १ र ८ मा निर्माण भएका शहरी स्वास्थ्य केन्द्र र प्रसुती सेवा केन्द्र पनि सञ्चालनमा आएका छैनन्। आर्थिक वर्ष २०७५/७६ मा प्रदेश सरकारको १२ देखि २० लाखको लागतमा बनेका ती भवनहरु अझै पनि सञ्चालन गर्न नसकिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बातए।  

त्यस्तै पञ्चेश्वर गाउँपालिका ४ निङलाडमा भएको सामुदायिक स्वास्थ्य इकाई र पुर्चौंडी नगरपालिका ४ भटनामा निर्माण भएको प्रसुती सेवा केन्द्र पनि सञ्चालनमा आउन सकेका छैनन्। 

१२ देखि २० लाख सम्म खर्च भएका ती भवन अहिले प्रयोगमा नआएको स्वास्थ्य कार्यालय बैतडीले समेत जानकारी दिएको छ। 

निर्माण भइसकेका ती प्रसुती सेवा केन्द्रहरु प्रयोगमा नआएपछि स्थानीयलाई सास्ती भएको छ। प्रसुति सेवाका लागि स्थानीयले सदरमुकाम धाउनुपर्ने बाध्यता उस्ताको उस्तै रहेको उनीहरुले गुनासो गरेका छन्। 

कमेन्ट लोड गर्नुस