सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यार्थी संख्या घटेपछि डडेल्धुराको अमरगढीद्वारा विद्यालय समायोजन

२०७७ असोज ३, ०३:०७ आशिष मल्ल

धनगढी: डडेल्धुराको अमरगढी नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालय समायोजन गरेको छ।  नगरपालिकाले नगर क्षेत्रभित्रका मापदण्डअनुरुप न्यूनतम विद्यार्थी संख्या नपुगेका दुई विद्यालय अन्य विद्यालयमा समायोजन गरेको हो। 

नगरपालिकाको सामुदायिक विद्यालय समायोजन कार्यविधी २०७७ अनुसार कैलापाल प्राथमिक विद्यालय झर्तालाई सहश्रलिङ प्राथमिक विद्यालयमा गाभिएको र पूर्णगिरी प्राथमिक विद्यालय जिलोडालाई असिग्राम प्राथमिक विद्यालय सेलागाउँमा गाभिएको नगरपालिकाले जानकारी दिएको छ। 

यस्तै बालविकास कक्षादेखि ५ कक्षा सञ्चालन भएका ५ विद्यालयले शैक्षिकसत्र २०७७ देखि कक्षा ४ र ५ मा भर्ना लिन नपाउने भएका छन्। उनीहरूले अब बालविकास कक्षादेखि ३ को मात्रै पठनपाठन गर्न पाउने नगरपालिकाका शिक्षा शाखा प्रमुख हेमन्तराज पन्तले बताए। जसमा भरर्खरै समायोजन भएको असिग्राम प्राथमिक विद्यालय सेलागाउँ, जनज्येती प्रावि आदित्यपुर, जनसेवा प्रावि डाँडाकोट, असिग्राम प्रावि सुनेडा र शैलेश्वर महादेव प्रावि तिलाडी रहेको शिक्षा शाखा प्रमुख पन्तले बताए। 

यस्तै बालविकास कक्षादेखि कक्षा ४ सम्म रहेको भुमिराज प्रावि ढुन्ढुनेलाई बालविकास कक्षादेखि कक्षा ३ सम्म कायम गरिएको उनले बताए। उक्त कार्यविधीकै आधारमा नगरपालिकाले यसअघि भृकुटी प्रावि खलंगालाई महेन्द्र मावि खलंगामा समायोजन गरिसकेको छ। 

नगर उपप्रमुख संगिता भण्डारीको संयोजकत्वमा सामुदायिक विद्यालयको दरबन्दी मिलान तथा विद्यालय समायोजन सुझाव समितिले स्थलगत अनुगमन र सरोकारवालाहरुसँगको छलफल पश्चात नगर कार्यपालिकामा बुझाएको प्रतिवेदनका आधारमा सायोजनको निर्णय भएको नगरप्रमुख विशेश्वर प्रसाद ओझाले बताए। उक्त समितिले समायोजन गरिएका विद्यदालयको पछिल्लो ३ वर्षको विद्यार्थी संख्या सम्बन्धी तथ्यांक विश्लेषण गरेको थियो। 

साथै कार्यपालिका बैठकले विद्यालयको शिक्षक दरबन्दी मिलानको कार्य तत्काल प्रारम्भ गर्ने तथा दरबन्दी मिलानको कार्य सम्पन्न नहुँदासम्म शिक्षक सरुवा र नियुक्ति सम्बन्धी सम्पूर्ण कार्य रोक्ने निर्णय समेत गरेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस