सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पनि विद्यालय सञ्चालनकोे तयारी

फाईल फोटो
फाईल फोटो
२०७७ असोज ३, ११:२५ कमल सावद

धनगढीः कोरोना भाइरसको संक्रमण फैलिएपछि जारी लकडाउन र निषेधाज्ञापछि बन्द रहेका विद्यालय पुनःसञ्चालनको तयारी थालिएको छ। कैलालीका स्थानीय तहहरुले विद्यालय सञ्चालनका लागि छलफल सुरु गरेका हुन्।

स्थानीय तहहरु पाठ्यपुस्तक वितरण गर्न थालेका छन् भने विद्यार्थीको समेत खोजी भइरहको छ। नेपाल सरकारले विद्यालय सञ्चालनका लागि निर्देशिका तयार गरेको छ। सोही निर्देशिकाको आधारमा जिल्लाका स्थानीय तह पनि विद्यालय सञ्चालनको तयारीमा जुटेका हुन्।

गत चैतदेखि बन्द रहेका विद्यालय सञ्चालन गर्न अहिले पुस्तक वितरणसँगै विद्यार्थीको अवस्थाका बारेमा समेत अध्ययन हुँदैछ। गौरीगंगा नगरपालिकाकाले नगर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पुस्तक वितरण गर्न भनेको छ।

नगर क्षेत्रका विद्यार्थीको अवस्थाका बारेमा शिक्षकलाई निगरानी गर्न समेत भनिएको शिक्षा शाखा प्रमुख हरिश पन्तले बताए।

‘सरकारले जारी गरेको निर्देशिका अनुसार विद्यालय सञ्चालनको तयारी थालेका छौँ।’ उनले भने, ‘तर कुन माध्यमबाट पठन पाठन सुरु गर्ने भन्ने भएको छैन्। विद्यार्थीलाई पुस्तक वितरण र उनीहरुको अवस्थाका बारेमा जानकारी लिने काम भईरहेको छ।’

शिक्षा तथा प्रविधि मन्त्रालयको भदौ १९ मा बसेको मन्त्री स्तरीय बैठकले गरेको निर्णय अनुसार विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा बमोजिम जिल्लाका स्थानीय तहले विद्यालय सञ्चालनको तयारी थालेका हुन्।

संस्थागत विद्यालयले भने अहिले भर्ना अभियान समेत थालेको एनप्याब्सन कैलालीका अध्यक्ष उपेन्द्र अवस्थीले बताए। उनले जिल्लाका विभिन्न स्थानीय तहहरुले समेत विद्यालय सञ्चालनको बारेमा छलफल थालेका बताए।

निर्देशिकाको विकल्पका बारेमा समेत स्थानीय तहहरुले छलफल थालिएको जनाएका छन्। इन्टरनेट, रेडियो, टिभी तथा प्रत्यक्ष कक्षा सञ्चालन कुन माध्यामबाट गर्ने अध्ययन सुरु गर्ने भन्ने विषयमा समेत छलफल थालिएको धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगन्नाथ पन्तले बताए।

उनले भने, ‘विद्यालय सञ्चालनका बारेमा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकसंग छलफल गर्दैछौँ। कुन माध्यमबाट पठन पाठन गर्ने भन्ने भएको छैन्। विकल्पको खोजी गर्दैछौ।’

शिक्षा तथा प्रविधि मन्त्रालयको विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा कोरोनाको संक्रमणको अवस्था हेरेर नियमित रुपमा विद्यालय संचालन हुनसक्ने अवस्था भएमा प्रत्यक्ष सिकाई क्रियाकलाप गर्न बाधा हुने छैन भन्ने उल्लेख गरिएको छ।

सोही निदेर्शिका अनुसार कैलालीमा पनि विद्यालय सञ्चालनको तयारी थालिएको हो। 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस