सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मेदेखि मृत्युसम्मको संस्कार एउटै थलोमा

फाइल फोटो
फाइल फोटो
२०७७ असोज ३, ०७:३५ रासस

गुरुङ जातिको संस्कृति अध्ययन अवलोकन गर्नका लागि सङ्ग्रहालय निर्माण गरिएको छ। तनहुँको व्यास नगरपालिका–३ स्थित तमुसार क्होवेमा गुरुङ जातिको सङ्ग्रहालय निर्माण गरिएको हो।

तमु सुधार समाजले रु एक करोड १० लाखको लागतमा सङ्ग्रहालय निर्माण गरेको समाजका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए। गुरुङ जातिको रितिरिवाज, संस्कार र संस्कृति अध्ययन अवलोकन गर्नका लागि उक्त सङ्ग्रहालय उपयुक्त स्थल बन्न सक्ने गुरुङले बताए।

व्यास नगरपालिका, गण्डकी प्रदेश सरकार र स्थानीय जनसहभागितामा सङ्ग्रहालय निर्माण गरिएको हो। गुरुङका अनुसार सङ्ग्रहालय निर्माणका लागि व्यास नगरपालिकाले रु १८ लाख र गण्डकी प्रदेश सरकारले रु ११ लाख सहयोग गरेको छ भने बाँकी रकम समाजकै सदस्यबाट उठाइएको छ।

सङ्ग्रहालय निर्माण सम्पन्न भइसकेको र सङ्ग्रहालयभित्र राखिने सामग्री सङ्कलनमा जुटेको गुरुङले बताए। “ गुरुङ जातिको संस्कृति झल्कने विभिन्न सामग्री राख्ने तयारी गरेका छौँ, सङ्ग्रहालयभित्र छिरेपछि जन्मेदेखि मृत्युसम्मको सबै संस्कार हेर्न पाइन्छ”, उनले भने। सङ्ग्रहालय निर्माणका लागि पूर्व लाहुरेहरुले पेन्सन रकम सहयोग गरेका छन् भने कतिपयले स्वेच्छिक रुपमा चन्दा सहयोग गरेका छन्। 

जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङ र भीमराज गुरुङले तयार गरेको गुरुङ संस्कृति झल्काउने चित्रहरु सङ्ग्रहालयका लागि हस्तान्तरण गरिएको छ। गलबहादुर र र भीमराजले लकडाउनको अवधिमा गुरुङ संस्कार झल्कने विभिन्न तस्वीर तयार पारेका थिए। 

गुरुङका अनुसार गुरुङ जातिको जन्मेदेखि मृत्युसंस्कार झल्किने १५ वटा तस्बीर सङ्ग्रहालयका लागि हस्तान्तरण गरिएको छ। उक्त तस्बीरहरु व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तमु सुधार समाजका अध्यध मनबहादुरलाई हस्तान्तरण गर्दै सङ्ग्रहालय अध्ययनको उपयुक्त थलो बन्ने बताए।
 

कमेन्ट लोड गर्नुस