पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न थरुहट थारुवान राष्ट्रिय मोर्चाको माग
धनगढीः थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीले दिनेश सञ्चार गृहमै पत्रकारमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।
गत शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै केहि युवाहरुले दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका थिए। उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात गरेका थिए।
उक्त घटना निन्दनीय भएको भन्दै मोर्चाले पत्रकार महासंघले सुरु गरेको चरणवद्ध आन्दोलनमा विज्ञप्तिमार्फत ऐकवद्धता जनाएको छ। थरुहट थारुवान राष्ट्रिय मोर्चा कैलालीका संयोजक माधव चौधरीद्वारा जारी विज्ञप्तिमा भनीएको छ, ‘गलत क्रियाकलाप गर्नेलाई प्रहरी प्रशासनले कडा भन्दा कडा कारवाही गर्नुपर्नेमा अपराधीहरुलाई विविध वहानामा पक्राउ नगर्ने, आलटाल गर्ने प्रहरी प्रशासनको क्रियाकलापले उनीहरुको कार्यक्षमता, कार्यदक्षतामा प्रश्न चिन्ह खडा भएको महसुस भएको छ।’
विज्ञप्तिमा अगाडि भनीएको छ, ‘अपराधीहरुलाई यथासिघ्र पक्राउ गरी कडा भन्दा कडा कारवाहीका लागि प्रहरी प्रशासन तथा सम्बन्धीत निकायसँग जोडदार माग गर्दछाैँ।’