सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै टीकापुरमा पनि धर्ना

२०७७ भदौ ३०, ०२:४६ खबर संवाददाता

टीकापुरः सञ्चार गृहमाथि आक्रमण गदैै पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै कैलालीको टीकापुरमा पनि धर्ना दिईएको छ।

दिनेश सञ्चार गृहमाथि आक्रमण गरी पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ कैलालीको अगुवाईमा सुरु गरिएको आन्दोलन अन्तरगत ईलाका प्रशासन कार्यालय टीकापुरमा समेत धर्ना दिईएको हो।

नेपाल पत्रकार महासंघ कैलालीकी उपाध्यक्ष दुर्गा देवकोटाको नेतृत्वमा टीकापुरमा क्रियाशिल पत्रकारहरुले ईलाका प्रशासन कार्यालय अगाडी आधा घण्टा धर्ना दिएका हुन्।

धर्नापछि आयोजित सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ सुदुरपश्चिमका उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले समाचारकै विषयलाई लिएर सञ्चार गृह र पत्रकारमाथि आक्रमण हुने निन्दनीय र खेदजनक भएको बताए।

‘‘कोरोना कहरमा आफ्नो पेशागत दायित्व पूरा गरिरहेका पत्रकारलाई कानूनको धज्जी उडाउँदै आक्रमण गर्न जो कोहीलाई पनि छुट दिन मिल्दैन’’, भण्डारीले भने, ‘‘पत्रकार जोगाउनु सबैको दायित्व हो। आम नागरिकलाई सुसुचित गर्ने पत्रकारमाथि आक्रमण गर्नेलाई पक्राउ नगरे हामी चुप बस्दैनौँ।’

 

पत्रकार महासंघका केन्द्रीय पार्षद गणेश चौधरीले पत्रकारमाथि आक्रमण गर्नु लोकतन्त्रमाथिको प्रहार भएको बताए। प्रेस स्वतन्त्रता रहे मात्रै लोकतन्त्र रहने भएकाले पत्रकारमाथि हुने आक्रमणले लोकतन्त्रमाथि प्रश्न चिन्ह खडा गरेको बताए। अर्का केन्द्रीय पार्षद मातृका तिमिल्सेनाले पत्रकारले कानूनी दायरामा रही  आफ्नो दायित्व पुरा गरिरहेका बेला भएको आक्रमणको भत्सर्ना गरे।

उनले प्रहरी प्रशासनले आक्रमणमा संलग्नलाई पक्राउ ढिलाई गरेकोप्रती आपत्ती जनाएका छन्। दबाबमुलक कार्यक्रमको नेतृत्व गरेकी पत्रकार महासंघ कैलालीकी उपाध्यक्ष दुर्गा देवकोटाले सञ्चार गृहमै आक्रमण गरी कुटपिट गरिनुले पत्रकारको पेशागत र भौतिक सुरक्षाका विषयमा चिन्तित बनाएको बताईन्।

पत्रकारलाई भौतिक सुरक्षाको प्रत्याभुती दिदै दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन देवकोटाले माग गरिन्। दिनेश सञ्चार गृहमा गत शुक्रबार युवाहरुको एक समूहले आक्रमण गरेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा थुनावामा रहेका धनगढीका १९ वर्षीय युवक रोशन विकले आत्महत्या गरेको समाचारको विषयलाई लिएर उनीहरुले आक्रमण गरी पत्रकारमाथि समेत कुटपिट गरेका थिए।

 

कमेन्ट लोड गर्नुस