धनगढीमा प्रहरी हिरासतमा युवकको मृत्यु: के भन्छन् मृतकका परिवारका सदस्य र प्रहरी ?(भिडियोसहित)
धनगढी: शुक्रवार बिहान जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षभित्रै मत भेटिए। भदौ २२ गते चोरी आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका वडा नम्वर १ का १९ वर्षीय रोशन विक शुक्रबार बिहान आफ्नै सर्टले प्रहरी हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको दावी जिल्ला प्रहरी कार्यालय कैलालीको छ।
कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बिकले आत्महत्या गरेको दावी गरे। घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन भइसकेको उनले बताए।
तर मृतकका परिवारका सदस्यहरुले भने आत्महत्या नभई हत्या भएको बताउँदै आएका छन्। शरिरभरी घाउँ देखिएकाले बिकको हत्या भएको दावी उनीहरुको छ।
मृतकका बुवा टेकबहादुरले प्रहरीले आत्महत्या गरेको बताए पनि उनको अनुहारभरि निलडाम र चोटपटक देखिएकोले आत्महत्या नभई कुटपिटबाट हत्या गरिएको बताए।
उनले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग गरे। मृतकका बुवाआमा धनगढी उप–महानगरपालिकामा कार्यरत छन्।