सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुमनाम बझाङी योद्धा अमरसिंह भण्डारी

फाइल फोटो
फाइल फोटो
२०७७ भदौ २५, ०१:५८ खबर संवाददाता

प्रताप ओली, बझाङ: तत्कालिन् जंगबहादुर राणा वा जङ्गबहादुर कुँवर राणा नेपालका प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज थिए। कोतपर्वको नरसंहार पश्चात शक्तिशाली भएका जङ्गबहादुर राणा भण्डारखाल पर्व पश्चात राजसंस्था भन्दा शक्तिशाली भए। राजा राजेन्द्र शक्तिशाली छँदाछँदै जंगबहादुरले अनेक उथलपुथल गरेर युवराज सुरेन्द्रलाई गद्दी आरोहण गराएर दामोदर पाँडे, भीमसेन थापा, रणजङ पाँडे र माथवरसिंह थापाको नीति सकारी आफू शक्तिशाली भए।

१९०२ सालमा भएको कोतपर्वपछि सर्वशक्तिमान भएका जंगबहादुर राणा (वीरनरसिंह कुँवर) एकतन्त्री ढंगले शासन गर्न थालेपछि अछामका चेतनशील युवक बलदेवले त्यसको विरोध गरे। बाँकाबीर’ बलदेव शाहीले अति नै विरोध गर्न थालेपछि जंगबहादुरले बलदेवलाई विप्लवी ठानेर आदेश दिए, ‘अछामी रणभीम शाहको भाइ बलदेव शाही, बझाङी अमरसिंह भण्डारी १, गुमानी सिंहका भाइ ईश्वर सिंह १ जहाँ फेला पर्छन्, यिनलाई काटिदिनू।’ उनले आदेशमा भनेका छन्, ‘यिनीहरूको मद्दतीमा जोजो छन्, तिनलाई नेल(गलफन्दी हाली नउम्काउन्या गरी यहाँ ल्याउने काम गर्नू। इति संवत् १९०५ साल मिति वैशाख सुदौ रोज शुभम्।’

सोही आदेश अनुसार बाँकाबीर ‘बलदेव शाही’(शाह) १९०५ सालमा रुद्रवीर स्वाँरको खुकुरी प्रहारबाट मारिए। बाँकाबिरलाई त्यसयता नेपालका प्रथम सहिद पनि भन्न थाले तर सँगै मारिएका बझाङी युवा अमरसिंह भण्डारीको कसैले चर्चा गरेनन्। उनी पनि केन्द्रिय शासन सत्ताका घोर विरोधी हुन्।

जंगबहादुर राणा (वीरनरसिंह कुँवर) ले एकतन्त्री ढंगले शासन चलाएको भन्दै विरोध गरेका कारण अमरसिंह भण्डारी पनि मारिएका बताइन्छ। लेखक, विश्लेषक तथा सिमा अभियान्ता रतन भण्डारी भन्छन्, ‘अमरसिंह भण्डारी पनि एक योद्धा नै हुन् तर उनको सोधी खोजी र चर्चा कसैले गरेनन्। गुमनाम उनको बारेमा अब खोजी हुन् आवश्यक छ।’

बझाङका धेरै ठाउँमा भण्डारी छन् तर अमरसिंह भण्डारी कुन ठाउँका हुन् त्यो विषय अझै रहस्यमय छ। भण्डारी पनि बाँकावीर जस्तै परिवर्तनशिल युवा हुन्। जसले राणाको शासन पद्धतिको विरोध गर्दा आहुति दिनुप¥यो।

सुदूरपश्चिमको इतिहास परिचय र नेपाली इतिहास मन्थनलगायत पच्चीसवटा पुस्तक लेखिसकेका आत्माराम ओझाले विभिन्न सन्दर्भ सामग्री र दस्तावेजहरूलाई आधार मानेर बाँकावीर बलदेव शाही (शाह) नेपालका प्रथम सहिद हुन् भन्नुभएको छ। बाँकावीर बलदेवभन्दा झन्डै ३१(३२ वर्षपछि मारिएका लखन थापा प्रथम सहिद भनेर गरिएको प्रचार इतिहासको अन्वेषण र अनुसन्धानबेगर गरिएको अपव्याख्या मात्र होइन, इतिहास बंग्याउने प्रपञ्च पनि हो।

२००४ सालमा इलामका भगीरथ गौतम र बैतडी बमराडा गाउँका आत्माराम ओझा (हाल कन्चनपुर) काठमाडौंमा झन्डै दुई वर्ष एउटै कोठामा बसेका सहपाठी थिए। इतिहास र साहित्यमा दुवैको अभिरुचि थियो। पचासी वर्षको उमेरमा पनि साहित्य सिर्जनामा सक्रिय ओझा सुदूरपश्चिम, कर्णाली क्षेत्र, नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कन्चनपुर) आदिको मात्र होइन, सम्पूर्ण नेपाली इतिहासका ज्ञाता हुन्।

केही वर्षअघि त्रिभुवन विश्वविद्यालय सिनासका अन्वेषक पेशलकुमार निरौला र पंक्तिकार उनको निवास (कन्चनपुर, महाकाली) पुग्दा उनले नेपाली इतिहासको खोजीविहीन ढंगले नभएकोमा दुःखमनाउ गरेका थिए।

पंक्तिकारका पिता (स्वर्गीय भगीरथ गौतम) तथा साहित्यकार आत्माराम युवावस्थामा घनिष्ट मित्र भएकाले पारिवारिक वातावरणमै हाम्रो कुराकानी भयो। युवापुस्तालाई समेत दिग्भ्रमित तुल्याउने कतिपय इतिहास लेखकहरूले दल, जात, गुट वा क्षेत्रलाई मात्र महत्त्व दिएर साँचो इतिहास ढाकछोप गरेकोमा ओझा जस्ता सत्यवादीहरू चिन्तित देखिएका छन् । राष्ट्र ढल्न लाग्दा पनि टाठाबाठा भने मौन छन्।

आज नयाँ पुस्तालाई उल्टोपाल्टो सिकाइँदै छ। राष्ट्रलाई भावनात्मक रूपमा टुक्राटुक्रा बनाइएको छ। अखण्ड राष्ट्रलाई भौगोलिक रूपमा खण्डखण्ड बनाउन खोजिएको छ। अंग्रेजीमा ‘पार्ट’ शब्दबाट बनेको पार्टीले समष्टि, व्यापकता, अखण्ड र सुदृढ मण्डलको परिकल्पना गर्दैन। प्राचीन ग्रन्थमा सौरमण्डल, वायुमण्डल, व्योम मण्डल, पृथ्वी मण्डल जस्ता शब्दले व्यापक अर्थ दिएको पाइन्छ।

हाम्रो धर्मसंस्कृतिले संसारका सबै मानव एउटै परिवारका सदस्य हुन् भन्दै ‘वसुधैव कुटुम्बकम’ मानेको हो। हाम्रो सभ्यताले ‘पृथिवी शन्ति ‘ अन्तरिक्ष शान्ति’ भन्दै सबैको भलो होस् भन्ने सन्देश दिएको छ। त्यसैले पूर्वजले ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया’ तथा भवतु सब्ब मंगलम् (सबैको मंगल होस्) भन्ने सिकाए। आज राजनीति र प्रशासन चलाउनेहरू आफ्नै मात्र भलो हेरिरहेका छन्।
 

कमेन्ट लोड गर्नुस