सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अव्यवस्थित विद्युतीकरणले बर्षेनी धनजनको क्षती

२०७७ भदौ २४, ०३:१० खबर संवाददाता

धनगढी: जेठ दोस्रो साता धनगढी उपमहानगरपालिका वडा नम्वर ४ मा जगत मल्लका १४ बर्षीय छोरा आभाष मल्ल आफ्नै घरको बरण्डामा थिए। बरण्डामै हिडिरहेको समयमा उनलाई विद्युतको मेन लाईनको तारबाट करेन्ट लाग्यो। करेन्ट लागेर घाईते भएका मल्ललाई उपचारको लागि माया मेट्रो अस्पतालमा लगिएको थियो र उपचारको क्रममा उनको मृत्यु भयो। 

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ विशालनगरका मानबहादुर बस्नेतलाई गत साउन १३ गते करेन्ट लाग्यो। करेन्ट लागेर घाइते भएका उनले दुवै हात गुमाउनु परेको छ। अहिलेसम्म उपचारमा १० लाख खर्च भएको  छ भने अझै धेरै खर्च लाग्ने उनका ज्वाई नरेन्द्र गिरीले बताए। ‘विशालनगरमा चन्द्रा पाण्डेयको घरमा ग्रिलको काम गर्दै गर्दा करेन्ट लागेको थियो,’ उनले भने, ‘विद्युतको प्रशारण लाईन घर नजिकै भएकाले करेन्ट लागेको हो।’

अव्यवस्थीत विद्युतीकरणकै कारणले धनगढीमा धेरैले अकालमा ज्यान गुमाएका छन् भने धेरै अंगभंग भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले पनि प्रत्येक महिना करेन्ट लागेर मृत्यु भएका घटना सार्वजनिक भईरहेको बताए। उनले अधिकासंलाई पानी तान्ने मोटर चलाउँद्या करेन्ट लागेको छ भने निर्माणाधिन घरमा काम गर्दा पनि कतिपयलाई करेन्ट लागेको बताए। 

जथाभावी विद्युतका तार तानेका कारण जोखिम बढाएको हो। वर्षौं पहिले विद्युत विस्तार गर्ने क्रममा तानिएका नाङगा तारले अहिले अग्ला घरलाई नै छुन थालेपछि झन जोखिम बढेको छ। 

यता नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले भने विद्युतको मापदण्ड अनुसार घर निर्माण नहुँदा पनि समस्या भएको बताए। ‘विद्युत प्राधिकरणको मापदण्ड अनुसार ३३ केभिएको लाईनमा ५ मिटरको दुरीमा भौतिक संरचना निर्माण गर्न नपाउने व्यवस्था रहेको छ भने ११ केभिएको लाईनमा दुई मिटर वरपर संरचना निर्माण गर्न नपाउने व्यवस्था छ,’ उनले भने, ‘तर स्थानीय तहले भने विद्युतको मापदण्ड विपरित घर निर्माणका लागि अनुमती दिदा पनि समस्या भएको छ।’

अव्यवस्थित रुपमा तानिएका तारका कारण विद्युत् अनियमित हुने, ट्रान्सफर्मर सर्ट हुने, बत्ती डिम जल्ने लगायतका समस्या पनि छन्।

कमेन्ट लोड गर्नुस