शिक्षा इकाई डडेल्धुरामा तालाबन्दी, अनुदान शिक्षककाे तलब निकासा हुनुपर्ने माग
डडेल्धुराः शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरामा तालाबन्दी गरिएको छ। शून्य दरबन्दी भएका सामुदायिक विद्यालयमा दिँदै आएको शिक्षण सिकाई अनुदान कोटामा कार्यरत डडेल्धुराका शिक्षकहरूले बुधबार शिक्षा इकाई डडेल्धुरा र इकाई प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।
देशैभरका सामुदायिक विद्यालयमा नेपाल सरकारबाट प्रदान गरिँदै आएको उक्त कोटाका लागि शैक्षिकसत्रको अघिल्लो असारमै एकमुष्ट रकम निकासा हुने गरेको थियो। तर, यो वर्ष दुई महिना बितिसक्दा पनि विनियोजित रकम निकासाको कुनै आधिकारिक जानकारीसम्म नआएकोले तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक केशवबहादुर साउदले बताए ।
एउटै विद्यालमा कार्यरत शिक्षकले तलब पाउने तर आफूहरूको तलबको कुनै टुंगो नलागेकोले दुई बुँदे माग राखी आन्दोलन गर्न बाध्य भएको उनले बताए।
यसअघि आफूहरूले शिक्षा इकाईमार्फत शिक्षा मन्त्रीलाईलाई उक्त विषयमा ज्ञापन पठाएको तर कुनै जवाफ नआएकाले आफूहरू तालाबन्दी गर्न बाध्य भएकोसमेत उनको भनाइ छ।
सामुदायिक विद्यालयको शिक्षण सुधारका लागि मुख्य विषय अंग्रेजी, गणीत र विज्ञान शिक्षकको अभाव परिपूर्तिका लागि नेपाल सरकारले शिक्षक अभाव भएका तथा शून्य दरबन्द भएका विद्यालयहरूलाई २०७५ सालदेखि एकमुष्ट रकम प्रदान गर्दै आएको थियो। यो वर्ष कोरोनाको कारण देखाउँदै गत असार महिनामै निकासा हुनुपर्ने रकम निकासा गरेको छैन।
आर्थिक वर्षको विनियोजित बजेट निकासा गरिनुपर्ने र तलबभत्ता वाफतको रकम नेपाल सरकारले तोके बमोजिम अन्य शिक्षकहरुको जस्तै हुनुपर्ने शिक्षकहरुको माग छ।
‘निजी क्षेत्रलाई कर्मचारीको रोजगारी नखोस्न निर्देशन दिइरहेको सरकारले आफै शिक्षकहरूको तलब निकासा गरेको छैन्। निकासासम्बन्धि कुनै जानकारी पनि दिइएको छैन।’ संयोजक साउदले भने,‘यदि फेरि पनि हाम्रा मागहरुको सुनुवाइ नभए पुनः चरणबद्ध आन्दोलनमा जान्छौं।’