सुदूर नेपाललाई विश्वसँग जोड्दै

तीन वर्षपछि निकुञ्जमा तस्करले गैंडा मारेको आशंका

२०७७ भदौ २४, ०५:४० रासस

चितवन राष्ट्रिय निकुञ्जमा तीन वर्ष पछि तस्करले दुर्लभ एक सिंगे गैंडा मारेको आशङ्का गरिएको छ। निकुञ्जको वाँदरझुला आईल्याण्ड क्षेत्रमा दुई दिन अघि शङ्कास्पद अवस्थामा मृत गैंडा भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी २५ देखि ३० वर्षको गैंडाको टाउकोमा दुईवटा प्वाल र पछाडीको भागमा धारिलो हतियारले काटेको थियो। बरालले भने “खाग र खुर भने सुरक्षित भेटियो”, उनले थपे “शङ्कास्पद भयो, तस्करले होईन भन्न सक्ने अवस्था रहेन।”

तस्करले आक्रमण गरेको अनुमानमा निकुञ्जमा सुरक्षा सतर्कता वढाईएको छ। वि. सं. २०७३ चैतमा जगतपुरको एक सामुदायिक वनमा तस्करले गैंडा मारेयता हालसम्म चोरीका कारण गैंडा मारेको तथ्याङ्क निकुञ्जमा छैन। निकुञ्जका पशु चिकित्सक डा. भिषण गजमेरका अनुसार भदौ २१ गते घोलमा गढेर उभिएको तर गलेको अवस्थामा गैंडा भेटिएको थियो। 

मृत भाले गैंडाको टाउकोमा दुईवटा प्वाल रहेका थिए। तीन देखि चार ईन्चका ती प्वाल के कति कारणले भएको एकिन नभएको उनले जानकारी दिए। करिब एक साता अघि गैंडा मरेको अनुमान गरिएको छ। तस्करले गैंडालाई आक्रमण गरेको हुन सक्ने भन्दै निकुञ्जले अनुसन्धान थालेको छ। तस्करले खाग र खुरका लागि गैंडा मार्ने गर्दछन्।

खाग र खुर सुरक्षित भएकाले घटना रहस्यमय वनेको छ। निकुञ्जमा साउन यता प्राकृतिक कारणले तीन गैंडा मरेका छन्। सशस्त्र द्धन्द्धमा तस्करले एकै वर्षमा ३६ वटा सम्म गैंडा मारेका थिए। पछिल्ला वर्षमा निकुञ्जले नयाँ नयाँ रणनीतिका साथ सुरक्षा व्यवस्था मजबुत वनाए पछि तस्करले गैंडा मार्न नसकेका हुन। 

गत आर्थीक वर्षमा गैंडाको गणना गर्ने भनिएको भएपनि कोरोना सङ्क्रमणका कारण स्थगित भएको थियो। पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६ सय ५ गैंडा रहेका छन्।
 

कमेन्ट लोड गर्नुस