त्रिनगर र गड्डाचौकी नाकाबाट एकैदिन ८ सय बढि नेपाली भारत पसे
धनगढी– त्रिनगर र गड्डाचौकी नाकाबाट एकैदिन ८ सय बढि नेपाली भारत पसेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमवार त्रिनगर–गौरीफन्टा नाकाबाट सात सय ५६ र गड्डाचौकी नाकाबाट ६३ जना गरी ८ सय १९ जना भारत गएका हुन्।
उनीहरु मध्ये अधिकासं नेपाली रहेका छन्। कोरोना त्रासपछि भारतबाट स्वदेश फर्किएका उनीहरु गुजारा चलाउनै मुस्किल भएपछि फेरी भारत जान थालेका हुन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको संख्या समेत बढेको जानकारी दिए।
उनका अनुसार सोमवार मात्रै एक हजार ३० जना नेपाली गौरीफन्टा नाका भएर भित्रिएका छन्। गड्डाचौकी नाकाबाट भने ५९ जना नेपाली भित्रिएका छन्।
आइतबार मात्रै गड्डचौकी र गौरिफन्टा नाकाबाट पाँच सय ४२ जना भारत पसेका थिए। नेपाल फर्किनेको सङ्ख्या भने तीन सय ८१ मत्रै थियो। त्यसअघि शनिवार कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट पाँच सय २१ जना भारत पसेका थिए।
कोरोना महामारीपछि स्वदेश फर्किएकाहरू रोगले भन्दा पनि भोकले मर्नुपर्ने अवस्था आएको भन्दै फेरी भारत जान थालेका हुन्।
भारतीय एसएसबीले अहिले परिचयपत्र खुल्ने कार्डका आधारमा नेपालीहरूलाई सिमानाकाबाट प्रवेश दिइरहेको छ। कतिपय भने बिरामी भनेर वडाका जनप्रतिनिधिको सिफारिस बनाएर समेत भारत जाने गरेको छन्।